काठमाडौं । भारतमा सेप्टेम्बर महिनाको विक्री तथ्यांक बाहिर आएको छ । कम्पनीहरुले आफ्ना डिलर नेटवर्कमा पठाएको गाडीमा व्यापक गिरावट आएको हो ।
मारुती सुजुकी, हुन्डाई, किया, महिन्द्रा, रेनो र होन्डाको विक्री घट्दा टाटा, एमजी र स्कोडाको विक्री बढेको छ । कोभिड १९ को संक्रमण फैलिन थालेसँगै टाटाको विक्री निरन्तर बढेको हो ।
मारुती सुजुकीले अघिल्लो वर्ष सेप्टेम्बरको तुलनमा २०२१ सेप्टेम्बरमा ५७.३ प्रतिशतको गिरावट व्यहोरेको छ भने, हुन्डाईको विक्रीमा पनि व्यापक गिरावट आएको छ । हुन्डाईले अघिल्लो वर्षको तुलनामा ३४.२ प्रतिशत कम गाडी उत्पादन र विक्री गरेको हो ।
त्यसैगरी कियाले २२.७ प्रतिशत, रेनोले १६.८ प्रतिशत, होन्डाले ३३.७ प्रतिशत कम गाडी डिलरकोमा पठाएका छन् । धेरै गाडी विक्री गर्ने कम्पनीमा टाटाले २१.४ प्रतिशतको वृद्धि पाएको छ । अघिल्लो वर्ष सेप्टेम्बरमा २१ हजार २०० यूनिट गाडी विक्री गरेको टाटाले यो सेप्टेम्बरमा २५ हजार ७२९ यूनिट गाडी विक्री गरेको जनाएको छ ।

जीप, फक्सवागेन, निसान जस्ता ब्राण्डको विक्री पनि बढेको छ । विशेषत सेमी कन्डक्टरमा आएको समस्याको कारण कार निर्माताहरुले आफ्नो क्षमता अनुसार गाडी उत्पादन गर्न नसकेको कारण नै बजारमा गाडी पठाउन नसकेको निर्माताहरुले उल्लेख गरेका छन् ।


