काठमाडौं । अटो बजारमा नयाँ मोडल आउने र पुरानो मोडल बन्द हुने श्रृखला नयाँ होइन । विश्वब्यापी रुपमा बढेको प्रतिस्पर्धाको कारण एउटा मोडलको औषत आयु ७ वर्ष हाराहारीमा झरिसकेको छ ।
गाडी उत्पादकहरुले चाँडै आफ्नो मोडल बजारबाट बाहिर नजाओस् भन्नलाई हरेक ३ वर्षमा एक पटक फेसलिफ्ट र अर्को ३ वर्षमा नयाँ जेनेरेशन मोडल ल्याएर आफुलाई टिकाइरहेका छन् भन्दा फरक पर्दैन ।
कुनै समय नेपालमा सर्वाधिक चासो र चर्चामा रहेका केही मोडल नेपालबाट सधैंका लागि बन्द भएको छ । त्यसमा हुन्डाई, डाट्सन, फक्सवागेन, स्कोडा जस्ता ब्राण्डका उत्पादन समावेस छन् ।
नेपालमा यी गाडीको बिक्री बन्द हुनुमा कम्पनीले भारतीय बजारमा उत्पादन बन्द गर्नु मुख्य कारण रहँदै आएको पाइन्छ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा बिक्री बन्द भएका कारहरु यस प्रकार छन् ।
हुन्डाई सेन्ट्रो
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको इन्ट्री लेभल ह्याचव्याक कार सेन्ट्रोको बिक्री वितरण रोकिएको छ । भारतमा नै यसको उत्पादन बन्द भएसँगै नेपालमा पनि यसको बिक्री बन्द भएको हो ।

सन् १९९८ मा पहिलो पटक भारतमा उत्पादन भएको सेन्ट्रो सन् २०१३ देखि २०१८ सम्म पनि बन्द भएको थियो । पुरानो डिजाइनलाई छाडेर नयाँ र आधुनिक डिजाइनमा आएको सेन्ट्रो केबल ४ वर्ष मात्रै बजारमा टिक्यो ।
फ्यामली ह्याचव्याक कारको रुपमा आएको सेन्ट्रो नेपालमा राम्रो संख्यामा बिक्री हुँदै आएको मोडल हो । १.१ लिटर क्षमताको फोर सिलिण्डर युक्त सेन्ट्रो सेग्मेन्टकै लग्जरी ह्याचव्याक मानिन्थ्यो । अब यो कार नयाँ किन्न पाइने छैन ।
पोलो र भेन्टो
चर्चित जर्मन ब्राण्ड फक्सवागेनको ह्याचव्याक र सेडान दुई मोडल बन्द भएको छ । फक्सवागेनले भारतमा उत्पादन गरेको पोलो र भेन्टो सधैंको लागि बन्द गरेको हो । यद्यपि, पालो मोडल साउथ अफ्रिकामा भने उत्पादन भइरहेको छ ।

भेन्टोभन्दा पनि पोलो नेपालमा निकै सफल ह्याचव्याक कार हो । स्टाइलिस डिजाइन, जर्मन इन्जिन र प्रिमियम क्याविनको कारण धेरै मानिसले पोलो खरिद गरेका थिए । टोयोटाले भारतमा उत्पादन गरेको लिभा र इटिओस नेपालमा असफल हुँदा पनि फक्सवागेनको पोलो र भेन्टो सफल भएको थियो । १.० लिटर टर्बो इन्जिन रहेको यी दुबै कार अब नेपालमा नयाँ बिक्री हुने छैनन् ।
र्यापीड
सेडान सेग्मेन्टमा आएर पनि निकै राम्रो सफलता पाएको स्कोडा र्यापीड पनि सधैंको लागि बन्द भएको छ । फक्सवागेन ग्रुपको नेतृत्व संहालेर भारतमा काम गर्दै आएको स्कोडा र्यापीडको ठाँउमा नयाँ सेडान स्लाभिया मोडल ल्याएको छ । तर, नेपाल भने स्लाभिया आइसकेको छैन ।

स्कोडाले नेपालमा १.० लिटर टीएसआई इन्जिनलाई निकै बलियोसँग ब्राण्डिङ गरेको थियो । तर, अव र्यापीड पनि नेपालमा उपलब्ध हुने छैन ।
डाट्सन ब्राण्ड नै बन्द
जापानी उत्पादकको सर्वाधिक सस्तो कारको पहिचान भनाएको डाट्सन ब्राण्ड नै नेपालमा बन्द भयो । डाट्सनले तीन मोडल रेडी गो, गो र गो प्लस नेपालमा बिक्री गर्दै आएको थियो ।

गो र गो प्लस सन् २०२१ मानै बन्द भएको थियो । तर, रेडी गो भने आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको थियो । डाट्सन रेडी गो नेपालमा निकै राम्रो संख्यामा बिक्री भएको थियो । मूल्यको हिसावले सस्तो, उच्च ग्राउन्ड क्लियरेन्स र निकै छोटो साइजको कारण रेडी गो धेरैले खरिद गरेका थिए ।
पायोनियर मोटर्सले अहिले डाट्सन ब्राण्ड भारतमा नै बन्द भएसँगै नेपालमा पनि बन्द गरेको हो । १.० र ०.८ लिटर इन्जिनमा बिक्री भएको रेडी गो लगायत डाट्सन ब्राण्ड अब सधैंको लागि बन्द भएको हो ।

