माग अनुसार नयाँ गाडी पाउने गाह्रो

काठमाडौं । कोभिड १९ को संक्रमणको कारण गाडी व्यवसाय नराम्रोसँग पिडित भयो । गाडी किन्ने क्षमता भएका मानिसको आम्दानीको स्रोत सुक्यो भन्दै गाडीका शोरुममा जानै डराए । तर, समय फेरियो गाडी किन्न ग्राहकले रकम जोहो गरेर शोरुममा जान थाले विक्रेताले गाडी नै दिन सकेनन् ।

अहिले शोरुममा गाडी छैनन् । भएपनि डिस्प्लेको लागि मात्रै छ । ग्राहकले गाडी बुकिङ गरेको महिना दिनसम्म गाडी पाउन सक्ने अवस्था छैन । यो समस्या गाडीमा मात्र होइन चल्तीका मोटरसाइकल विक्रेतामा पनि छ । यसो हुनुको मुख्य कारण गाडी अडर गर्ने समयमा यहाँको अवस्थाले गर्दा भएको विक्रेताहरु बताउँछन् ।

‘गाडी अर्डर गर्ने समयमा धेरै जोखिम लिन सकिएन । गाडी किन्न ग्राहक शोरुम नै आउँदैनन् कि भन्ने अवस्था थियो । तर, समय सहज भयो गाडी किन्न मानिस शोरुममा आए, अहिले दिन गाडी नै भएन’, एक गाडी विक्रेताले भने ।

गाडी अर्डर नै नभएपछि नयाँ गाडी आउने कुरै भएन । यसबीचमा नेपालीहरुको ठूला चाडपर्व पनि परेका थिए । यसले गाडीको माग उच्च भयो । सप्लाई चेन नै विग्रियो । यसले बजारमा गाडीको उपलब्धता कम भयो ।

‘धेरै चल्ने मोडलमा अहिले सप्लाई कम भएको छ । तर, गाडी नै नपाउने अवस्था भने छैन’, कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल्स ट्रेडिङका डिजीएम अनिस लामिछानेले भने ।

अहिले बजारमा मारुती, हुन्डाई, महिन्द्रा, किया जस्ता कम्पनीले ग्राहकले खोजेका र त्यसमा पनि नयाँ मोडल तत्काल दिन सक्ने अवस्था छैन । यसो हुनुमा गाडी किन्ने मानिसको रोजाई पनि प्रमुख कारण भएको शोरुममा भेट्टिने सेल्स म्यानहरुको भनाई छ ।

‘हाम्रो अर्डरको ६० प्रतिशत पनि गाडी भारतबाट आइरहेको छैन । भारतमा आन्तरिक विक्री बढ्नु र कम्पनीहरुको उत्पादन क्षमता बढाउन आवश्यक पाटर्सको उपलब्धता कम हुनुले केहि महिना गाडी आयात कम भएको हो । अब जनवरीबाट बजारमा गाडीको उपलब्धता राम्रो हुने देखिन्छ’, महिन्द्राको आधिकारीक विक्रेता अग्नी ग्रुपका महाप्रबन्धक बरदान बस्नेतले भने ।

कोभिडपछि विश्व बजारमा नै मन्दी आएको र गाडी उत्पादन करिब ३ महिना पूर्णरुपमा बन्द भएको कारण पनि आन्तरिक खपतपछि मात्रै निर्यात गर्ने रणनीति कम्पनीहरुले अपनाएको कारण नेपाल जस्तो पूर्णत आयातमा निर्भर देशमा गाडीको सर्टेज भएको मान्न सकिन्छ ।

‘नयाँ मोडलमा ग्राहकको आकर्षण देखिएको छ । हामीले अनुमान गरेभन्दा ग्राहकको रोजाईमा नयाँ गाडी बढी परेको कारण बजारमा सप्लाई कम भएको हो । अब विस्तारै सप्लाई बढ्ने अवस्था सृजना भएको छ’, हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रुपेश शर्मा भट्टले भने ।

यहाँका गाडी विक्रेताले तीन महिनाअघि नै अर्डर हालेपछि मात्रै निर्यातको लागि आवश्यक यूनिट कार उत्पादन गरेर पठाउने हुँदा बजारमा नयाँ मोडल र चल्तीका अन्य गाडी शोरुममा पाउन कठिन भएको हो ।


Back_to_top