काठमाडौं । विश्वको सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलको उत्पादन प्लाण्टमा भीषण अगलागी भएको छ ।
आइतबार चीनको निग्दे सरहमा रहेको प्लाण्टमा लागलागी भएको हो । आगो निभाउन दर्जनौं दमकललाई घण्टौं लागेको थियो ।
सन् २०२० मा स्थापना भएको उक्त प्लाण्टबाट टेस्ला र अन्य कम्पनीका लागि ब्याट्री उत्पादन हुने गरेको थियो । प्लाण्टमा आगो कहाँबाट सल्कियो भन्ने अझै आधिकारिक जानकारी आएको छैन । उक्त आगलागीमा कोही पनि हताहती नभएको बताइएको छ भने अन्य क्षतिको विवरण आएको छैन ।
न्यू इनर्जी भेहिकलको ब्याट्री उत्पादक सीएटीएलको स्थापना सन् २०११ मा भएको थियो । सीएटीएलको अहिले विश्वभरिमा १३ वटा फ्याक्ट्री रहेको छ । सीएटीएलको हाल हाइ भोल्टेज ब्याट्री मार्केटमा ३७.७ प्रतिशत बजार हिस्सा रहेको छ ।
ब्याट्रीको प्लाण्टमा आगलागी हुनु भनेको एकदमै खतराको रुपमा लिइन्छ । गत वर्ष कोरियाको एरीसेल ब्याट्री प्याण्टमा आगलागी हुँदा २३ जना कामदारको ज्यान गएको थियो ।