काठमाडौं । नेपाली बजारमा पछिल्लो समय क्रुजर मोटरसाइकल सेग्मेन्टमा प्रतिस्पर्धा बढ्दो क्रममा देखिएको छ । मोर्डन रेट्रो डिजाइनका क्रुजर मोटरसाइकल नेपाल आउने क्रम पनि बढ्दै गएको छ । लकडाउन कै बीचमा होन्डाले नेपाल ल्याएको सिबी हाइनेसले चर्चा पाइरहेको छ । त्यस्तै केही समय अगाडि सार्वजनिक भएको जावा ४२ (फोर्टीटू) पनि निकै राम्रो संख्यामा विक्री भइरहेको छ । यही सेग्मेन्टमा विगत लामो समयदेखि विक्री हुँदै आएको रोयल इन्फिल्ड क्लासीक ३५० प्रति युवाहरुको मोह सबैले देखेका नै छौं ।
विशेषत यी तीन मोटरसाइकल एकअर्काका प्रतिस्पर्धी रहेका छन् । रेट्रो डिजाइनका यी तीन प्रिमियम मोटरसाइकल बीच धरै समानता पाउन सकिन्छ । मूल्यलाई आधार मान्दा भने केही भिन्नता पाउन सकिन्छ ।
इन्जिन र पावर
होन्डा मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा विक्री सुरु गरेको सिबी हाइनेस ३५० मा ३४८.४ सीसी क्षमताको, एयर कुल्ड, बीएस-६ एफआई इन्जिन रहेको छ । यो इन्जिनले ५५०० आरपीएमा २०.७८ बीएच पावर तथा ३३०० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

त्यसैगरी, रोयल इन्फिल्ड क्लासीक ३५० मा ३४६ सीसी, सिंगल सिलिन्डर, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ५२५० आरपीएमा १९.१ बीएच पावर तथा ४००० आरपीएममा २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले विक्री गर्दै आएको जावा फोर्टीटुमा २९३ सीसी, सिंगल सिलिन्डर, लिक्वीडकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६८०० आरपीएमा २७.१ बीएच पावर तथा ५००० आरपीएममा २७.०२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम सीसी भएतापनि जावा फोर्टीटु सेग्मेन्टकै सबैभन्दा बढी पावर भएको मोटरसाइकल हो ।
इन्धन ट्याङ्क र माइलेज
होन्डा सिबी हाइनेसमा १५ लिटर क्षमताको फ्युल ट्याङ्क रहेको छ । त्यस्तै क्लासीक ३५० मा १३.५ लिटर र जावा फोर्टीटुमा १४ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ ।

कम्पनीले दावी गरे अनुसार होन्डा सिबी ३५० ले ४२ किलोमिटर प्रतिलिटर, क्लासीक ३५० र जावा फोर्टीटुले ३७ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ ।
सस्पेन्सन र ब्रेकिङ सिस्टम
यी तीनवटै मोटरसाइकलको अगाडि टेलिस्कोपिक सस्पेन्सन रहेको छ भने सिबी हाइनेस र जावा फोर्टीटुको पछाडि ट्वीन हाइड्रोलिक र क्लासिक ३५० को रियरमा ५ स्टेप एड्जष्टेवल सस्पेन्सन रहेको छ ।
यी तीनै मोटरसाइकलमा डिस्क ब्रेक रहेको छ । सिबी हाइनेस र जावा फोर्टीटुमा डबल च्यानल एबीएस रहेको छ भने क्लासिक ३५० मा भने सिंगल र डबल च्यानल एबीएस सुबिधा रहेको छ ।
साइज
साइजको कुरा गर्दा होन्डा हाइनेसको लम्वाई २१६३ एमएम, चौडाई ८०० एमएम, उचाई ११०७ एमएम र ह्वीलवेस १४४१ एमएम रहेको छ । साथै, यसको सिट हाइट ८०० एमएम र ग्राउन्ड क्लियरेन्स १६६ एमएम रहेको छ ।

त्यस्तै क्लासिक ३५० को लम्वाई २१६० एमएम, चौडाई ७९० एमएम, उचाई १०९० एमएम र ह्वीलवेस १३७० एमएम रहेको छ । यसको सिट हाइट ८०० एमएम र ग्राउन्ड क्लियरेन्स १३५ एमएम रहेको छ ।
जावा फोर्टीटुको लम्वाई २१२२ एमएम, चौडाई ७८९ एमएम, उचाई ११६५ एमएम र ह्वीलवेस १३६९ एमएम रहेको छ । त्यसैगरी यसको सिट हाइट ७६५ एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । ह्वीलवेसलाई आधार मान्दा सिबी हाइनेस उत्कृष्ट रहेको छ ।

अन्य फिचर
रेट्रो लुक्सका यी तीनवटै मोटरसाइकलमा गोलो आकारको हेडल्याम्प रहेको छ । क्लासिक ३५० र जावा फोर्टीटुमा एनलाग इन्स्टुमेन्ट क्लष्टर रहेको छ भने होन्डाले सेमी डिजिटल क्लष्टर दिएको छ । यसमा केनेक्टिभिटी फिचर समेत पाउन सकिन्छ । होन्डा र जावाले फ्युल वार्निग इन्डिकेटर दिएको छ भने, रोयल इन्फिल्डमा यो फिचर उपलब्ध छैन । यी तीनवटै मोटरसाइकलमा इन्जिन किल स्वीच, पिलियन सिट, पिलियन ग्रयावरेल, पासलाइट जस्ता फिचर पाउन सकिन्छ ।
मूल्य
नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक एमभी दुगर्ड अन्तर्गतको विवेक अटोमोवाइल हो । कम्पनीले क्लासिक ३५० को मूल्य ६ लाख रुपैयाँ निर्धारण गरेका छ । त्यस्तै होन्डा सिबी हाइनेसको मूल्य ७ लाख ५० हजार र जावा फोर्टीटुको मूल्य ६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

