काठमाडौं । माज्दाको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले आफ्नो ७ सिट क्षमताको एसयूभी ‘सिएक्स-९’ नेपाल ल्याएको छ । कम्पनीले ल्याएको यो एसयूभी प्रिमियम फिचर लोडेड रहेको छ ।

माज्दा नेपालको लागि नयाँ ब्राण्ड भने होइन । जापानी मोटर उत्पादकले विगत १५ वर्षदेखि नेपालमा माज्दा विक्री गर्दै आएको भएपनि डिलर परिवर्तनपछि नयाँ मोडल आउन थालेको हो ।
काठमाडौंको नक्शालमा शोरुम स्थापना गरेर पारामाउन्ट मोटर्सले विक्री सुरु गरेको हो । अहिले उक्त शोरुमबाट सिएक्स-५ र सिएक्स-९ मोडल विक्री वितरण हुँदै आएको कम्पनीले जनाएको छ ।
यसअघि नै कम्पनीले बुकिङ खुल्ला गरेको माज्दा सिएक्स ९ को मूल्य १ करोड ६३ लाख ४९ हजार कायम गरेर विक्री सुरु भएको हो । यो गाडीमा २.५ लिटर क्षमताको टर्बो इन्जिन प्रयोग भएको छ । उक्त इन्जिनले अधिकतम ५००० आरपीएममा २५० पीएस पावर र २००० आरपीएममा ४२० एनएम टर्क प्रदान गर्ने छ । यसमा ६ स्पीड म्यानुयलको साथ अटोमेटिक गियरबक्स दिइएको छ ।

अल ह्वील ड्राइभ अप्सनको साथ आएको सिएक्स-९ मा २२३ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । निकै लामो साइजमा उपलब्ध यो एसयूभीमा २९३० एमएमको ह्वीलवेस रहेको छ । यसमा २० इन्चको ह्वील प्रयोग गरिएको छ ।

एबीएस, इबीडी, ४ वटै चक्कामा डिस्क ब्रेक, ६ एयरव्याग, किलेस इन्ट्री, माज्दाको टप पिक प्लस सुरक्षा फिचर यसमा पाउन सकिन्छ ।



