काठमाडौं । नेपालमै सीएफमोटोका मोटरसाइकल एसेम्बल हुन थालेसँगै मूल्य घटेको छ । कम्पनीले हालैमात्र सीएफमोटो २५० एनकेको मूल्य घटाएको हो ।
कम्पनीले सीएफमोटो २५० एनकेमा ५० हजार रुपैयाँले घटाएको हो । यसअघि ५ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको २५० एनकेको मूल्य नेपालमा एसेम्बल भएसँगै ५ लाख ४९ हजार ९०० रुपैयाँमा झरेको हो ।
यसअघि तयारी मोटरसाइकल आयात गर्दै आएको कम्पनीले अहिले सीकेडी (कम्प्लीट नकडाउन किट) ल्याएसँगै मूल्य घटाएको हो । सरकारले नेपालमै एसेम्बल हुने मोटरसाइकलमा तयारी मोटरसाइकलको तुलनामा कम कर लगाउँदै आएको छ ।
नेपालमा बजाज, यामाहा, रोयल इनफिल्ड, टीभीएस, सुजुकी, ट्रयाम्फजस्ता ब्रान्डले मोटरसाइकल एसेम्बल गर्दै आएका छन् । यसमा सिएफमोटो पनि थपिएको हो ।
सिएफमोटो मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी रिलायन्स ग्रुप अन्र्तगतको ऋषि ट्रेड सेन्टरले हालैमात्र नेपालमै एसेम्बल भएको ३०० एनके समेत सार्वजनिक गरेको थियो ।
सीएफ मोटो २५० एनकेमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले २७.४ बीएच पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ड्युअल च्यानल एबीएस, एलसीडी डिस्प्ले, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र १५० एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता रहेका छन् । यसमा १२.४ लिटरको इन्धन ट्यांकी रहेको छ ।

