काठमाडौं । चांगानले आफ्नो नेभो ब्राण्डमा क्यू-०६ नामबाट नयाँ एसयूभी ल्याएको छ । कम्पनीको नयाँ एसयूभी ८०० भोल्ट आर्किटेक्चरमा बनेको छ भने पछाडि दुई मोटर प्रयोग गर्नेछ ।
कम्पनीले नयाँ क्यू-०६ एसयूभी बजारमा बिक्री थालिसकेको भने होइन । चिनियाँ सरकारी निकायमा कम्पनीले नयाँ एसयूभीको विवरण पेश गर्दै बिक्रीको लागि अनुमति मागेको हो ।
चांगान नेभो ब्राण्डमा यसअघि बिक्री हुँदै आएको ई-०७ नेपालमा दिपल ब्राण्डमा उपलब्ध हुँदै आएको छ । त्यसैगरी क्यू-०५ मोडल पनि छिट्टै एस-०३ नामबाट नेपाल आउने छ । यस्तोमा नयाँ एसयूभी क्यू-०६ पनि दिपल ब्राण्डमा नेपाल आउने सहजै अनुमान लगाउन सकिन्छ ।
कम्पनीले सरकारी कार्यालयमा पेश गरेको विवरण अनुसार नयाँ एसयूभीमा पृथक किसिम १४ ह्वील डिजाइन, पानारोमिक सनरुफ सहितको छत, दुई कलरमा सजिएको पछाडिको स्पोइलर, छतमा राखिएको लाइडार राखिएको उल्लेख छ ।
सेमी-फ्लस टाइप डोर ह्याण्डल प्रयोग भएको क्यू-०६ निकै सार्प बडी डिजाइनमा उपलब्ध हुने देखिन्छ । यसको लम्बाइ ४८३७ एमएम, चौडाइ १९७० एमएम र उचाइ १६७० एमएम रहनेछ । निकै ठूलो एसयूभीमा ह्वीलवेस पनि २९४० एमएम लामो दिइएको छ ।

तीन फरक साइजको ह्वील (१९, २० र २१ इन्च) उपलब्ध एसयूभीको अगाडि ड्यूल विस्बोन सस्पेन्सन छ भने पछाडि फाइभ आर्म मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ ।
कम्पनीले बाहिर ल्याएको बिबरण अनुसार रियर ह्वील ड्राइभ सिंगल मोटर २१० किलोवाट र २२५ किलोवाटमा आउने छ । पछाडिका दुबै चक्कमा प्रयोग भएको ड्यूल रियर मोटर भेरियन्टमा १६५ किलोवाटका दुई मोटर छ । जसको संयुक्त पावर ३३० किलोवाट हुनेछ ।
सीएटीएलले उत्पादन गरेको ‘सिक्स सी’ सपोर्ट गर्ने ब्याट्री रहने बताइएको भएपनि ब्याट्री साइजको विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । यो गाडी निकै तिब्र गतिमा चार्ज हुनेछ ।

