काठमाडौं । मारुती सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभीको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ गर्न सकिन्छ । जुन सब-फोर मिटर सेग्मेन्टमा उपलब्ध ब्रेजाको इन्ट्री भेरियन्टको मूल्य ४७ लाख ९ हजार छ ।
मारुती सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी ब्रेजाभन्दा निकै ठूलो छ । ब्रेजको लम्बाइ केबल ३९९५ एमएम छ । जबकी ई भिटाराको लम्बाइ ४२७५ एमएम छ । हरेक कुरामा ई भिटारा ब्रेजाभन्दा ठूलो छ ।
सीजी मोटोकर्पले ई भिटाराको आधिकारीक बिक्री थालेको छैन । कम्पनीले पोखरामा भएको ‘वाडा अटो शो २०८२’बाट इलेक्ट्रीक भिटाराको बुकिङ खुलाएको हो ।
भारतमा अघिल्लो महिनाबाट बिक्री सुरु भएको ई भिटारा सम्भवत बैशाख महिनाबाट नेपालमा बिक्री सुरु हुनेछ । सीजी मोटोकर्पले अहिलेसम्म कति भेरियन्टमा नेपाली बजारमा बिक्री हुन्छ भन्ने कुरा खुलाएको छैन ।
अहिले प्रि-बुकिङमा सार्वजनिक भएको ४९ लाख ९९ हजार रुपैयाँ मूल्य सम्भवत सुरुवाती भेरियन्टको हुनेछ । यसमा फिचरहरु कमै हुनेछन् । यद्यपि, मोटर साइज १०० किलोवाट माथि रहने भएको कारण यसको मूल्य बढी देखिएको हो ।
मारुती सुजुकले करिब ६ महिना अगाडिदेखि नै युरोपमा ई भिटारा बिक्री गर्दै आएको छ । यसमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । एउटा ४९ किलोवाट आवर र अर्को लङ रेन्जमा ६१ किलोवाट आवरको ब्याट्री छ ।
मोटर भने फरक साइजमा भएपनि नेपालमा करमा फरक भने पर्ने छैन । यसमा १०० किलोवाट माथिकै मोटर छ । त्यसैले १०० किलोवाट त्योभन्दा तलको मोटर साइजमा आउने गाडीभन्दा धेरै कर लाग्ने नै भयो ।
कम्पनीले भारतमा बिक्री थाले अनुसार तीन मोटर अप्सन उपलब्ध हुनेछ । जसमा ४९ किलोवाट आवरको ब्याट्रीसँग १०६ किलोवाटको मोटर छ । ६१ किलोवाट आवरको ब्याट्रीसँग १३० किलोवाट र अल ह्वील ड्राइभ भेरियन्टसँग १३५ किलोवाटको मोटर पाउन सकिन्छ । यी कुनै पनि मोटरमा नेपाल सरकारले लिने कर एउटै हुन्छ ।
यस्तो छ मासिक किस्ता
अहिलेसम्म कम्पनीले सुरुवाती भेरियन्टको मूल्य मात्रै बाहिर ल्याएको छ । त्यही भेरियन्टलाई आधार मान्दा ४४ हजार हाराहारी मासिक किस्ता तिर्नेगरी ई भिटारा किन्न सकिनेछ ।
कम्पनीले तोकेको मूल्य ४९ लाख ९९ हजारको ४० प्रतिशतले हुन आउने १९ लाख ९९ हजार ६०० रुपैयाँ डाउन पेमन्ट गर्नु पर्ने हुन्छ । यसरी डाउन पेमेन्ट बुझाएपछि बाँकी २९ लाख ९९ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।
बैंक तथा वित्तिय संस्थाले अहिले ६ प्रतिशत हाराहारी ब्याजदरमै कर्जा दिँदै आएका छन् । बैंकले गाडी किन्न ७ वर्षसम्मको कर्जा अवधी तोकेर दिने भएको कारण ८४ किस्तामा मासिक ४३ हजार ८२० रुपैयाँ किस्ता तिर्नेगरी ई भिटारा किन्न सकिने छ ।


