काठमाडौं । नेपाल ईभी पेनिट्रेसनमा विश्वमै दोस्रो स्थानमा छ । सन् २०२५ मा नेपालमा बिक्री भएका कुल नयाँ कारमध्ये ७३ प्रतिशत हिस्सा ईभीको थियो । ईभीको प्रयोग वर्षेनी बढ्दो क्रममा छ ।
सरकारले दिएको कर सहुलियत, संचालन खर्च कम, सस्तो मूल्यमा आधुनिक कार आउनु, चार्जिङ पूर्वाधारको विकास लगायतले ईभीको प्रयोग व्यापक बन्दै गएको हो ।
नेपालमा सर्वसाधरण, राजनीतिज्ञ, खेलाडी, कलाकार, उद्योगी, व्यवसायी, बैंकरदेखि मन्त्रीहरूलेसम्म विद्युतीय कार चढ्न थालेका छन् ।
वर्तमान सरकारमा सहभागी मन्त्रीहरूमा पनि ईभी क्रेज देखिएको छ । १६ सदस्यीय मन्त्रिपरिषद्का आधा मन्त्रीहरूले ईभी चढ्ने गरेको पाइएको छ । मन्त्रीहरूसँग एमजी, किया, बीवाइडी, डोङफेङ, स्काइवेल लगायत ब्राण्डका ईभी कार रहेको छ ।
कसले कुन गाडी चढ्छन् ?
मन्त्रीहरूमध्ये सबैभन्दा धेरैको रोजाइमा एमजी ब्राण्डका ईभी परेका छन् । ३ जना मन्त्रीसँग एमजीको ईभी छ ।
गृहमन्त्री सुधन गुरुङ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग एमजी एस ५ ईभी रहेको छ । एमजी एस फाइभको मूल्य भेरियन्ट अनुसार ४४ लाखदेखि ५५ लाख रुपैयाँसम्म रहेको छ ।
त्यस्तै, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग पनि एमजीको ईभी छ । उनले मोडल भने खुलाएका छैनन् । उनले उक्त ईभी १९ लाख ७५ हजार रुपैयाँमा किनेको उल्लेख गरेका छन् । त्यस्तै, श्रेष्ठसँग ८ लाख ५० हजार रुपैयाँमा किनेको ल्याण्ड क्रुजर र २ लाख ४६ हजार रुपैयाँ स्कुटर रहेको उल्लेख गरेका छन् ।
शिक्षा मन्त्री सस्मित पोखरेलसँग दुई वटा ईभी कार रहेका छन् । उनीसँग साढे ३९ लाख रुपैयाँमा किनेको बीवाइडीको डल्फिन ईभी र ७० लाख रुपैयाँ पर्ने किया निरो ईभी रहेको छ ।
परराष्ट्र मन्त्री शिशिर खनालसँग डोङफेङ भिगो इलेक्ट्रीक एसयूभी रहेको छ । उनले उक्त ईभी ४० लाख रुपैयाँमा बैंकबाट ऋण लिएर किनेका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग हुन्डाई कोना इलेक्ट्रीक एसयूभी रहेको छ । उनले उक्त ईभी ५७ लाख रुपैयाँमा किनेको उल्लेख गरेकी छिन् ।
त्यस्तै, कानुन मन्त्री सोविता गौतमसँग ९५ लाख रुपैयाँ पर्ने कार रहेको छ । उनले ब्राण्ड र मोडल नखुलाए पनि स्काइवेल ईटी ५ ईभी रहेको बताइएको छ । साथै उनीसँग २ लाख ७५ हजार रुपैयाँ पर्ने स्कुटर र २६ लाख रुपैयाँ पर्ने अर्को एउटा कार रहेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सुवारु एक्सभी कार छ । उनले उक्त गाडी ९४ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासँग २५ लाख रुपैयाँमा किनेको हुन्डाई ग्राण्ड आई १० कार छ ।
संचारमन्त्री विक्रम तिमल्सिनासँग २३ लाख रुपैयाँ पर्ने कार छ । उनले ब्राण्ड र मोडल भने खुलाएका छैनन् ।
पर्यटन मन्त्री खड्कराज पौडेलसँग ३५ लाख रुपैयाँ पर्ने जीप गाडी छ । साथै, उनीसँग २२ लाख रुपैयाँका दुइटा स्कुटर पनि रहेका छन् ।
वन तथा वातावरण मन्त्री गीता चौधरीसँग ३ लाख ३० हजार रुपैयाँ पर्ने स्कुटर छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग २ लाख ७० हजार रुपैयाँमा किनेको यामाहा मोटरसाइकल छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग दुईवटा दुईपाँग्रे सवारी रहेका छन् । उनका नाममा ३ लाख ३० हजारमा किनेको स्कुटर र श्रीमान्को नाममा २ लाख ७० रुपैयाँ पर्ने पल्सर मोटरसाइकल रहेको छ ।
प्रधानमन्त्रीको छैन सवारी
वर्तमान सरकारका प्रमुख बालेन्द्र शाहको भने कुनै पनि सवारी साधन रहेको छैन । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा कुनै पनि दुईपाँग्रे वा चारपाँग्रे सवारी साधन उल्लेख गरेका छैनन् ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालसँग पनि कुनै सवारीसाधन नभएको जनाएका छन् ।


