काठमाडौं । ठूला कार किन्ने उपभोक्ताको तुलनामा साना र कम मूल्यका विद्युतीय कार किन्न खोज्नेहरू धेरै अन्योलमा रहेको पाइन्छ । साना किन्ने योजना बनाइरहेका मानिस आफ्नो गाडीले कस्तो पर्फमेन्स गर्छ भन्ने कुरामा धेरै अन्योल रहेको भेटिन्छन् ।
बढ्दो पेट्रोलियम पदार्थको मूल्यसँगै एक पटक फेरि बजारमा साना र कम मूल्यका ईभीको चर्चा बढ्दै गएको छ । मूल्यका हिसाबले ३० लाखभन्दा कममा किन्न पाइने विद्युतीय कारको बजार अहिले निकै चलायमान भएको बिक्रेताहरू पनि बताउन थालेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा ठूलो उतारचढाव आइरहेको छ । नेपाल पेट्रोलियम पदार्थमा १०० प्रतिशत परनिर्भर भएको कारण त्यसको प्रत्यक्ष असर हाम्रो सम्पूर्ण यातायात क्षेत्रदेखि भन्सासम्म पर्दै आएको छ । त्यसैले एउटा सानो पारिवारिक कार किन्छु भन्नेहरू पनि ईभी प्रति झुकाव राख्न थालेका छन् ।
अहिले बजारमा बीवाइडी, टाटा, एमजी, लीपमोटर, केई, दायुन, नामी लगायतका ब्राण्डले साना र कम मूल्यका आकर्षक कारहरू बिक्री गर्दै आएको छ । यी अधिकांश कार ब्राण्डसँग ३० लाख रुपैयाँ हाराहारी मूल्यमा बिक्री गर्ने कार छन् ।
साना कारमा धेरै अप्सन उपलब्ध भएको कारण उपभोक्ताले कुन कार किन्दा भोलिसम्म आफ्नो लगानी खेर जाँदैन होला भन्ने प्रश्न गर्ने गरेको पाइन्छ । यस्तै प्रश्न राख्ने केही उपभोक्ताले विचार गर्नु पर्ने मुख्य कुरा हामीले यहाँ उल्लेख गरेका छौं ।
१. ब्राण्ड : नेपालमा कार बनाउने आफ्नै ब्राण्ड छैन । त्यसैले कुनै पनि ब्राण्डको साना ईभी छनोट गर्नु पहिले त्यसको नेपालमा कति लामो यात्रा अनुभव छ, त्यो हेर्नुपर्छ ।
त्यसको अलावा अन्तर्राष्ट्रिय बजारमा उक्त ब्राण्डले कस्तो पर्फमेन्स गरिरहेको छ । नयाँ कारहरू कत्तिको बनाउँदैछ र निकट भविष्यमा नेपालमा उसको उपस्थिति कस्तो रहन्छ भन्ने एकिन गर्नुपर्छ ।
न्यू इनर्जी भेहिकल ब्राण्डहरूमा क्रमिक रूपमा उथलपुथल भइरहेको कारण तपाईंंको परिश्रमको पैसा खन्याएर ईभी किन्ने निर्णय लिँदा ब्राण्डका बारेमा बुझ्नु निकै महत्वपूर्ण हुन्छ ।
२. नेटवर्क र सर्भिस सेन्टर : तपाईंले छनोट गर्ने ईभी ब्राण्डको नेपाल भित्र कति स्थानमा सर्भिस सेन्टर र बिक्री केन्द्र छ, त्यो राम्रोसँग बुझ्नु पर्छ । नेपालको कुनै पनि कुनामा तपाईं आफ्नो ईभी लिएर यात्रा गर्दा बिग्रेको खण्डमा के गर्ने भन्ने चिन्ता हटाउन नेटवर्कको निकै ठूलो भूमिका रहन्छ ।
यसमा अर्को महत्वपूर्ण कुरा आधिकारिक बिक्रेताले गर्ने लगानी पनि हो । बलियो बिक्रेता छ भने भोलिका दिनमा पनि बिक्रीपछिको सेवा निश्चित गर्न सक्छ ।
३. स्पेयर पार्ट्सको उपलब्धता : सर्भिस नेटवर्क भएर मात्रै पनि हुँदैन । बिक्रेताले मुख्य स्पेयर पार्ट्स राखेको छ वा छैन भन्ने कुराले सर्भिसमा ग्यारेन्टी प्रदान गर्न सक्छ ।
गाडी बिग्रेको खण्डमा छिट्टो बनाएर दिनको लागि बिक्रेतासँग पार्ट्सको बलियो उपलब्धता हुनुपर्छ । त्यसैले ब्राण्ड छनोट गर्दा तपाईंले बिक्रेताले कसरी स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ भन्ने बुझ्नु पर्छ ।

