काठमाडौं । निसानको सब फोर मिटर एसयूभी म्याग्नाइट नेपालमा विक्री सुरु भएको छ । यो सेग्मेन्टका अन्य प्रतिस्पर्धीको तुलनामा यसको सुरुवाती मूल्य करिब ७ लाख रुपैयाँ कम रहेको कारण अहिले चर्चामा रहेको हो ।
त्यसोत निसान नेपालको लागि कुनै नौलो ब्राण्ड होइन । विगत ३७ वर्षदेखि नेपाली बजारमा निसानका कार विक्री हुँदै आएका छन् । जापानी उत्पादकका कार नेपाली बजारमा राम्रै संख्यामा गुडिरहेका छन् ।
कुनै समय कम्पनीले माइक्रा बेच्ने मूल्यमा अहिले म्याग्नाइट विक्री सुरु गरेको छ । यसले कम्पनीलाई कस्तो परिणाम दिन्छ, त्यो हेर्न भने केहि समय कुर्नु पर्ने हुन्छ । निसानले भारतमा उत्पादन गरेका माइक्रा, टेरानो, सन्नी र किक्सको तुलनामा म्याग्नाइटको चर्चा सर्वाधिक भएको छ भने, भारतमा सुरुवाती विक्री पनि म्याग्नाइटले सानदार गरेको छ ।

प्रतिस्पर्धी मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, किया सोनेट र महिन्द्रा एक्सयूभी ३०० को तुलनामा म्याग्नाइट मूल्य र केहि सेग्मेन्ट फर्ष्ट फिचर सहित आएको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले जनाएको छ ।

निसानले सेग्मेन्टमा पहिलो पटक सानो इन्जिनमा म्याग्नाइटलाई बजारमा उतारेको छ । सानो इन्जिनले यसको मूल्य कम हुन सहयोग गरेको छ भने, अन्य फिचर थप गर्ने अवसर पनि प्रदान गरेको छ । १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिनको साथ बजारमा ल्याइएको ५ स्पीड म्यानुयल र सेग्मेन्टमा नै पहिलो एक्स-ट्रोनीक सिभिटी गियरबक्स यसमा उपलब्ध रहेको छ ।
७ इन्चको कलर टिएफटी ड्राइभरलाई सहयोग पुग्ने डिस्प्ले, एराउन्ड भ्यू मिरर, ५ मिटरको टर्निङ रेडियस, अगाडि र पछाडिको बीचमा प्रसस्त स्पेश, उत्कृष्ट ड्राइभर भिजिविलिटी एङ्गलको कारण निसान म्याग्नाइट सेग्मेन्टका अन्य एसयूभी भन्दा कमजोर छैन ।

यद्यपी भेहिकल डाइनामिक कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, ट्रायाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक एसिस्ट, ३६० डिग्री क्यामेरा, निसान कनेक्ट फिचर जस्ता सुरक्षा र मनोरञ्जनमा प्रयोग हुने फिचरहरु प्रिमियम भेरियन्टमा मात्र उपलब्ध रहेकाले वेस र सेमी भेरियन्ट खरिद गर्ने ग्राहकलाई केहि खल्लो लाग्न सक्छ ।
सानो इन्जिन भएपनि राम्रो पावर पाउन सकिने म्याग्नाइटको नेचुरल एस्पायड इन्जिनले अधिकतम ६२५० आरपीएममा ७० बीएच पावर तथा ३५०० आरपीएममा ९६ एनएम टर्क र टर्बो इन्जिनले अधिकतम ५००० आरपीएममा ९७ बीएच पावर तथा ३६०० आरपीएममा १६० एनएम टर्क पाउने छन् ।


