कम मूल्यमा इलेक्ट्रीक कार खोज्नेलाई उत्कृष्ट विकल्प

काठमाडौं । विद्युतीय गाडीको सम्भावना खोज्न विभिन्न कम्पनीले नेपालमा नयाँ मोडल ल्याएका छन् । त्यसमा पनि साना सहर लक्षित कार ल्याउने धेरै छन् ।

यही क्रममा पायोनियर वर्ल्डवाइड प्रालिले तीन महिना अघि नेपाल ल्याएको इलेक्ट्रीक ह्याचव्याक ‘हेनरी’को मूल्य २३ लाख हाराहारी पर्ने जनाइएको छ ।

कम्पनी स्रोतका अनुसार हेनरी कार चिनियाँ नाका खुल्ला भएको केही दिन भित्रै नेपाल आउने छ । कम्पनीले आफ्नो शोरुम पनि काठमाडौंको उत्तरढोकामा तयार गरेको छ ।

सहरी क्षेत्रको लागि उपयुक्त यो कारको लम्बाई ३३८० एमएम, चौडाई १४९९ एमएम र उचाई १६१० एमएम रहेको छ । उचाई र पछाडिको डिजाइनको आधारमा यसलाई ‘टलह्याच’ पनि भन्न सकिन्छ । कम्पनीले यसमा साइज अनुसार निकै लामो २४४० एमएमको ह्वीलवेस दिएको छ । ग्राहकले यसमा सेलेरियो वा सेन्ट्रोमा जस्तै १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सक्नेछन् ।

कम्पनीको अनुसार एक पटकको फुल चार्जमा १८५ किलोमिटर रेन्ज दिने यो कारमा १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । अधिकतम ३५ किलोवाट क्षमताको मोटर दिइएको यो ईभीमा रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध छ ।

अत्याधुनिक टेक्नलोजीमा आधारीत विद्युतीय गाडी भएको कारण यसमा धेरै फिचर उपलब्ध रहेका छन् । यसमा म्यानुयल ह्याण्ड ब्रेकको प्रयोग भएको छ भने इलेक्ट्रीक पावर स्टेरिङ, ७ इन्चको डिजिटल क्लष्टर, पीयु लेदर सिट, पावर विन्डो, डाइनामिक गाइड लाइन सहितको रिभर्स क्यामेरा, रिभर्स सेन्सर, १३ इन्चको आल्मुनियम ह्वील जस्ता फिचर दिइएको छ ।

यसको फ्रन्ट फेसिया फ्यूचरीस्टीक ईभी डिजाइनबाट प्रेरित रहेर तयार गरिएको छ । साथै, लुकिङ ग्लासमै दिइएको टर्न इन्डिकेटर लाइट, बडी कलर डोर ह्याण्डल, चालक सहित ४ जनाको लागि आरामदायी सिट, म्यानुयल एसी, थ्री प्वइन्ट सिट बेल्ट, एबीएस, इबीडी र हिल होल्ड एसिस्ट जस्ता फिचर छन् ।

कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर र मोटर लगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टममा ३ वर्ष वा ६० हजार किलोमिटर बारेन्टी प्रदान गरेको छ ।


Back_to_top