‘जीप रेकन’ ईभीमा यस्ता छन् फिचर, अफरोड क्षमता उत्कृष्ट

काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्टको पहिचान बनाएको जीपले पनि आगामी केही वर्षमै आफ्नो सबै मोडल इलेक्ट्रीक बनाउने घोषणा गरेको छ । कम्पनीले गत बिहिबार आयोजना गरेको ‘जीप फोरएक्सई डे’ कार्यक्रममा यस्तो घोषणा गरेको हो ।

जीपले अफ्नो अहिले चलिरहेको मोडलमा प्लगइन हाइब्रिड र आगामी सन् २०२४ सम्ममा दुईवटा नयाँ पूर्ण इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने घोषणा गरेको हो । यसै अवसरमा जीपले आफ्नो चर्चित अफरोड मोडल याङ्लर बेसमा जीप रेकन अफरोड इलेक्ट्रीक भेहिकलको कन्सेप्ट समेत देखाएको थियो ।

नयाँ इलेक्ट्रीक एसयूभीको कन्सेप्ट हेरेपछि धेरैले अफरोड ईभीमा रेकनले नयाँ बेन्चमार्क कायम गर्ने प्रतिक्रिया दिएका थिए । जीपका चिफ डिजाइनर राल्फ गिल्सका अनुसार जीप रेकन र्याङ्लरकै डिजाइन, साइज र प्रोपर्सनमा बन्ने छ ।

यसमा याङ्लरको जस्तै ठूलो टायर, लङट्राभल सस्पेन्सन, एक्ट्रीम एप्रोच, डिपाचर तथा ब्रकओभर एङ्गलका साथै सिग्नेचर टु बक्सको बनावट कायम रहनेछ । रेकन इलेक्ट्रीकमा फ्लोरमुनी ब्याट्री प्याक राखिने छ । रेकनमा धेरै ठाँउमा ग्रिनहाउस ग्लासको प्रयोग हुनेछ ।

जीप रेकनमा वानटच पावर स्लाइडिङ रुफ र र्याङ्लरको जस्तै रिमुभएवल डोरहरु रहनेछ । अगाडि बोनेट मुनी इन्जिन नहुने भएकोले यसमा अगाडिको भागलाई स्टोरेज स्पेशका रुपमा समेत प्रयोग गर्न सकिनेछ ।

जीप रेकन इलेक्ट्रीक भएर पनि उच्च क्षमताको अफरोड क्यापाविलीटी प्रदर्शन गर्न सक्षम हुनेछ । यसमा टेरेन छनौटको सुविधाका साथै इलेक्ट्रोनीकल्ली लकिङ एक्सल रहने छ । कम्पनीले यसमा प्रयोग हुने ब्याट्री र मोटरको क्षमताका विषयमा भने केही पनि जानकारी दिएको छैन ।


Back_to_top