काठमाडौं । चिनियाँ अटो उत्पादक चेरी अटोमोबाइलले आफ्नो पहिलो प्योर इलेक्ट्रीक पिकअप ट्रक हिम्ला (रिले ०८) सार्वजनिक गरेको छ।
कम्पनीले हिम्ला पिकअप विभिन्न ६ भेरियन्टमा बजारमा ल्याएको हो । कम्पनीले यसको सुरुआती भेरियन्टको मूल्य १८ हजार ३०० डलर र टप भेरियन्टको मूल्य २२ हजार ७०० डलर तोकेको छ ।
कम्पनीले हिम्ला पिकअप एउटा मोटर रियर ह्वील ड्राइभ र डबल मोटर अल ह्वील ड्राइभ दुवै विकल्पमा उपलब्ध गराएको छ ।
रियर ह्वील ड्राइभ भेरियन्टमा १५० किलोवाटको मोटर छ । जसले ३५० न्युटन मिटर टर्क प्रदान गर्छ । त्यस्तै, अल ह्वील ड्राइभ भेरियन्टमा ३०० किलोवाटको शक्तिशाली इलेक्ट्रीक मोटर छ । यसले अधिकतम ५४० न्युटन मिटर टर्क प्रदान गर्छ ।
रियर ह्वील ड्राइभ भेरियन्टमा ६६.५४ किलोवाट आवर र ८८ किलोवाट आवरको दुई ब्याट्री प्याक छ । जसले क्रमशः ४०५ र ५१० किमी रेन्ज दिने कम्पनीको दाबी छ । त्यस्तै, अल ह्वील ड्राइभ भेरियन्टमा ५०५ किमी रेन्ज दिने ८८ किलोवाट आवरको ब्याट्री प्याक छ ।

हिम्ला ईभी आकर्षक र विशिष्ट डिजाइनको छ। यसको अगाडिको भागमा ठूलो बहुभुजाकार ग्रिल छ । जसमा ‘हनीकम्ब प्याटर्न’का कालो एलिमेन्टहरू प्रयोग गरिएको छ। हुडको माथिल्लो किनारामा केन्द्रमा ‘रिले’ ब्राण्डको लोगो राखिएको छ।
यो पिकअप स्ट्यान्डर्ड बक्स र लामो बक्स गरी दुई साइजमा उपलब्ध गराएको छ । स्ट्यान्डर्ड बक्स मोडेलको लम्बाइ ५३३० एमएम, चौडाइ १९२० एमएम र उचाइ १,८९० एमएम रहेको छ । जबकि लङ बक्स भेरियन्ट लम्बाइ ५,६१० एमएम छ। स्ट्यान्डर्ड कार्गो बेडको गहिराइ १५३० एमएम र लङ बक्सको १८१० एमएम छ । दुवै भेरियन्टमा कार्गो चौडाइ १६२० एमएम र उचाइ ५१५ एमएम समान रहेको छ।
हिम्ला ईभीको भित्री भागमा थ्री स्पोक मल्टिप्रपोज स्टेयरिङ ह्वील, भेरियन्ट अनुसार १५.६ इन्च वा १२.३ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन उपलब्ध छ। क्याबिनमा हल्का खैरो र कालो रङ संयोजन प्रयोग गरिएको छ । जसमा विभिन्न भागहरूमा क्रोम एक्सेन्टले आकर्षण थपेको छ।
हिम्ला पिकअपमा एडभान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम छ । जसमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्टेन्ट, स्वचालित आपतकालीन ब्रेकिङ सिस्टम लगायत फिचर छन् ।

