चीनमा न्यू इनर्जी भेहिकल बिक्रीमा उच्च गिरावट

काठमाडौं । चीनमा न्यू इनर्जी भेहिकलको बिक्रीमा उच्च गिरावट देखिएको छ । चाइना प्यासेन्जर कार एशोसिएसनले सार्वजनिक गरेको जनवरी २०२६ को रिटेल बिक्री तथ्यांक अनुसार २० प्रतिशतले बिक्रीमा गिरावट आएको हो ।

एशोसिएसनका अनुसार सन् २०२५ को जनवरीमा ७ लाख ४४ हजार ५२ युनिट न्यू इनर्जी भेहिकल बिक्री भएको चीनमा २०२६ जनवरीमा ५ लाख ९६ हजार युनिट मात्रै बिक्री भएको देखिन्छ । जुन बिक्री जनवरी २०२४ को भन्दा पनि कम हो । २०२४ जनवरीमा ६ लाख ७३ हजार ५३६ युनिट न्यू इनर्जी भेहिकल बिक्री भएको थियो ।

यदि, यो बिक्री तथ्यांकलाई २०२५ डिसेम्बर महिनाको बिक्रीसँग दाँज्ने हो भने ५५ प्रतिशतले गिरावट आएको एशोसिएसनले जनाएको छ । यसरी बिक्री घट्नुमा न्यू इनर्जी भेहिकल खरिदमा सरकारले लगाएको ५ प्रतिशत पर्चेज ट्याक्सलाई मुख्य कारण मानिएको छ ।

चीन सरकारले न्यू इनर्जी भेहिकल खरिदमा दिँदै आएको अनुदान जनवरी १ तारिखदेखि हटाएको थियो । चीनले ब्याट्री इलेक्ट्रीक, हाइब्रिड र फ्युलसेल कारलाई न्यू इनर्जी भेहिकलको रूपमा व्याख्या गर्दै अनुदान दिँदै आएको थियो ।

जनवरी २०२६ को रिटेल बिक्री तथ्यांक अनुसार ३ लाख ४८ हजार युनिट ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले कम हो । साथै, २०२४ मार्चपछि पहिलो पटक ब्याट्री इलेक्ट्रीकको बिक्रीमा गिरावट आएको हो । यस वर्षको जनवरीमा न्यू इनर्जी भेहिकलको हिस्सामा ब्याट्री इलेक्ट्रीकले ५८.३९ प्रतिशत ओगटेको छ ।

जनवरीमा हाइब्रिड र फ्युलसेल भेहिकलको बिक्रीमा २४ प्रतिशतले गिरावट आएको छ । जनवरी २०२६ मा २ लाख ४८ हजार युनिट हाइब्रिड र फ्युलसेल ईभी बिक्री भएका छन् ।


Back_to_top