काठमाडौं । विद्युतीय कारको बाढी आएसँगै बजारमा कडा प्रतिस्पर्धा चलिरहेको छ । सरकारले दिएको कर छुट र बजारमा चलेको तीव्र प्रतिस्पर्धाले कार किन्नेले उत्कृष्ट मूल्य पाइरहेका छन् ।
महँगो टेक्नोलोजी भएर पनि नेपाली उपभोक्तालाई आफ्नै इन्धन (बिजुली) प्रयोग गर्न सरकारले प्रेरित गरिरहेको छ । त्यसैले ईभीको प्रयोग पनि व्यापक बन्दै गएको देख्न सकिन्छ ।
अहिले बजारमा ह्याचब्याक कार खोज्नेको लागि बीवाइडी एटो वान र लीपमोटर टी-०३ उत्कृष्ट मोडल बन्न सक्छ । यी दुई मोडलको बीचमा मूल्य ९६ हजार फरक छ भने अहिलेको अवस्थामा मूल्यको ६० प्रतिशत रकम बैंकबाट कर्जा लिएर किन्दा मासिक किस्तामा ८०० रुपैयाँको फरक आउँछ ।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले एटो वान डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ छ । यो एटो वानको इन्ट्री भेरियन्ट हो ।

लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स हो । कम्पनीले नेपालमा बिक्री गर्दै आएको टी-०३ ह्याचब्याक कारको मूल्य २७ लाख ९९ हजार रुपैयाँ छ । यो लीपमोटरले बिक्री गर्ने सबैभन्दा सस्तो मोडल हो ।
साइज
बीवाइडी एटो-वानको लम्बाइ ३९९० एमएम, चौडाइ १७२० एमएम र उचाइ १५९० एमएम छ । एटो-वानमा २५०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
लीपमोटर टी-०३ को लम्बाइ ३६२० एमएम, चौडाइ १६५२ एमएम र उचाइ १५७७ एमएम छ । यसमा ह्वीलवेस २४०० एमएम लामो पाउन सकिन्छ । साइजको आधारमा बीवाइडी एटो वान अगाडि छ ।
ब्याट्री र रेन्ज
ब्याट्री साइजको आधारमा टी-०३ अगाडि देखिन्छ । यसमा ३७ किलोवाट आवर क्षमताको ब्याट्री छ । यसले नेपाली सडकमा २७० किलोमिटरसम्म सहजै रेन्ज दिन्छ ।

बीवाइडी एटो वान डाइनामिक भेरियन्टमा ३० किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसको रेन्ज कम्पनीले २३० किलोमिटर दाबी गरेको छ । यहाँ ब्याट्री साइज र रेन्जमा टी-०३ किन्दा बढी फाइदा देखिन्छ ।
मोटर पावर
बीवाइडीले एटो वानलाई ४५ किलोवाट क्षमताको मोटरमा बिक्री गर्दै आएको छ । जबकी लीप मोटर टी-०३ मा ७० किलोवाटको मोटर छ । यदि, पावरकै आधारमा निर्णय गर्दै हुनुहुन्छ भने टी-०३ तपाईंको लागि सही निर्णय हुनसक्छ ।
सुरक्षा फिचर
सुरक्षाको लागि महत्वपूर्ण मानिएको एयरब्याग दुवै कारमा समान ६/६ वटा छन् । यस बाहेकका टेक फिचर पनि दुवै कारमा पाउन सकिन्छ ।
कुन राम्रो ?
माथि उल्लेख भएका बाहेक पनि धेरै कुराले कार किन्ने निर्णयलाई फरक पार्न सक्छ । तपाईंको पार्किङ साइज, डिजाइन छनोट, ब्राण्ड लिगेसी, सर्भिस उपलब्धता जस्ता कुरा पनि कार किन्नु अगाडि सोच्नु पर्ने विषय हुन् ।
त्यसैले यी दुई मध्ये कुनै प्रोडक्ट छान्नु अगाडि टेस्ट ड्राइभ गर्नुहोस् । तपाईंको आवश्यकता पूरा गर्छ वा गर्दैन एकिन गर्नुहोस् र खरिद निर्णय लिनुहोस् ।


