काठमाडौं । चीनको तेस्रो ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी ‘सीएएलबी’ले युरोपियन देश पोर्चुगलमा पहिलो अन्तर्राष्ट्रिय प्लान्ट स्थापना गर्ने भएको छ । यसअघि सीएटीएलदेखि बीवाइडीसम्मले युरोपियन र दक्षिण अमेरिकी बजारमा प्लान्ट लगाउने निर्णय गरेका थिए ।
चीनको तेस्रो ठूलो ब्याट्री उत्पादक ‘सीएएलबी’ले फेब्रुअरी २४ मा ब्याट्री उत्पादन प्लान्टको सिलान्यास गरेको हो । कम्पनीले उक्त प्लान्ट स्थापना गर्न २.१ बिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । उक्त प्लान्टबाट सन् २०२७ मा उत्पादन सुरु हुनेछ ।
सीएएलबीको ब्याट्रीहरु अन्तर्राष्ट्रिय अटोमोवाइल कम्पनीहरु टोयोटा, फक्सवागेन, फोर्ड र अउडीले प्रयोग गरिरहेको कम्पनीले जनाएको छ । पोर्चुगलमा स्थापना हुने प्लान्टबाट पहिलो फेजमा १५ गिगावाट आवर प्रति वर्ष ब्याट्री उत्पादन हुनेछ । त्यो भनेको ५० किलोवाट अवारका ब्याट्री भएका ३ लाख इलेक्ट्रीक कार बनाउन पुग्छ ।
सन् २०२४ मा कसको बजार हिस्सा कति ?
विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएल हो । सीएटीएलले गत वर्ष ३७.९ प्रतिशत बजार ओगटेको थियो । दोस्रो स्थानमा रहेको बीवाइडीले १७.२ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
दक्षिण कोरियाली ब्राण्ड एलजी इनर्जी शोलुसनले १०.८ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा रहँदा चिनियाँ ब्राण्ड सीएएलवी ४.४ प्रतिशत बजार हिस्सासहित चौथो स्थानमा रहेको छ ।
कोरियन ब्राण्ड एसके-अनले ४.४ प्रतिशत बजार हिस्सा ओगट्दा जापानी ब्राण्ड पानासोनिकसँग ३.९ प्रतिशत बजार हिस्सा रहेको छ । अर्को कोरियन ब्राण्ड सामसङ एसडीआईसँग ३.३ प्रतिशत बजार हिस्सा रहेको छ ।
टप आठ भित्र रहेको गोसन हाइटेकले ३.२ प्रतिशत, नबौं स्थानमा रहेको इइभी इनर्जीसँग २.३ प्रतिशत र दशौं स्थानको सनवाडासँग २.१ प्रतिशत बजार हिस्सा रहेको छ ।


