काठमाडौं । आगामी नाडा अटो शोमा थुप्रै नयाँ ब्राण्डले बिक्री सुरु गर्दैछन् । बिक्री सुरु गर्ने तयारीमा रहेका सबै ब्राण्ड चिनियाँ हुन् । अहिलेसम्म चीनबाट झण्डै दुई दर्जन ब्राण्ड नेपाल आइसकेका छन् ।
सन् २००० देखि नै चिनियाँ ब्राण्ड नेपाल आउन थालेका हुन् । तर, त्यति बेला आएका सबै ब्राण्ड एकपछि अर्को असफल भएर फर्केका थिए । पछिल्लो समय चिनियाँ ब्राण्डमा सबैभन्दा पहिला एमजी आएको हो ।
सन् २०१५ बाट नेपाल आएको एमजी २०१९ मा आधिकारीक बिक्रेता परिवर्तनसँगै आक्रमक बजार बिस्तारमा लागेको थियो । एमजीको जेडएस मोडल ईभीमा आएसँगै एमजी नेपालमा बलियोसँग स्थापित भएको पहिलो चिनियाँ ब्राण्ड हो ।
एमजी नेपालमा स्थापित हुनुमा यसको ब्रिटिस लिगेसीले निकै ठूलो काम गरेको छ । बेलायती ब्राण्डलाई चिनियाँ सरकारी स्वामित्वको एसएआइसी कम्पनीले खरिद गरेपछि एमजी चिनियाँ ब्राण्डको रुपमा चर्चा गर्न थालिएको ब्राण्ड हो ।
एमजीपछि बीवाइडी नेपालमा बलियोसँग स्थापित भइसकेको ब्राण्ड हो । सन् २०१७ मा नेपाल आएसँगै सधैँ चर्चामा रहेको बीवाइडी चर्चित अमेरिक लगानीकर्ता वारेन बफेटको कारण विश्वभर चर्चामा थियो ।
ब्लेड टेक्नोलोजीमा आधारित ब्याट्री उत्पादन र प्रयोग सुरु भएसँगै बीवाइडीले राम्रो बिक्री पाउन थालेको हो । अहिले बीवाइडी एक वर्षमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी हो ।
नेपालमा पुरानो इतिहास भएको ग्रेटवाल मोटर्स र चेरीले पुनः बजार प्रबेश गरेका हुन् । सन् २०२० र २०२१ मा आएका यी दुबै ब्राण्ड अहिले पनि सक्रिय छन् । ग्रेटवाल मोटर्सको रेगुलर कम्बस्चन इन्जिन, हाइब्रिड र इलेक्ट्रीक सबै गाडी उपलब्ध छन् ।
चेरी ब्राण्डकै गाडीको बिक्री अहिले छैन । तर, उसको सहायक ब्राण्ड ओमोडा र जेकोका गाडी भने राम्रो चर्चा पाउन सफल हुँदै आएका छन् । ओमोडा ई–५ ले बजारमा राम्रो छाप छाडिसकेको छ । जबकी जेको ब्राण्डको विद्युतीय गाडी केही दिनपछि बिक्री सुरु हुँदैछ ।
चांगान पनि २०२० को अन्तिमबाट नेपाल आएको हो । चांगानले सोचेजस्तो सफलता पाउन सकेन । तर, उसको इलेक्ट्रीक ब्राण्ड दिपलले नेपाल आएको छोटो समयमा नै निकै राम्रो बिक्री पाउन सफल भएको छ ।
चिनियाँ ब्राण्ड डोङफेङ पनि विगत ४ वर्षदेखि नेपालमा छ । तर, डोङफेङको इलेक्ट्रीक ब्राण्ड नामी नेपाल प्रबेश गर्दैछ । साथै, शोकोन पनि नेपाल आइसकेको छ ।
नेटा ब्राण्डबाट चिनियाँ उत्पादन लिएर बजारमा प्रबेश गरेको सीजी मोटर्सले किङलङ, केवाइसी, जीएसी एवोन, अवतार, एक्सपेङ, स्मार्ट, डायून, रेडारा जस्ता चिनियाँ ब्राण्डका विद्युतीय गाडी ल्याइसकेको छ ।
सेरेस २०२३ मा नेपाल आएको हो । नेपाल आएपछि सेरेसले सुरुमै निकै आक्रमक बजार बिस्तार गरेको थियो । अहिले पनि राम्रो ब्राण्डको रुपमा उसले आफुलाई स्थापित गर्दै लगेको छ ।
चिनियाँ ब्राण्ड मेक्सस, स्काइवेल, जिकर, केई, हेनरी, एसआरएम, कामा, सिएचटीसी, हाइगर, विलिङ जस्ता ब्राण्ड पनि नेपाल आइसकेका छन् । अझै केही ब्राण्ड आउने तयारी गरिरहेका छन् ।

