काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा १ हजार ३१५ यूनिट बस नेपाल आयात भएको देखिन्छ । कोभिड १९ संक्रमणपछि निरन्तर ओरालो लागेको बसको बिक्री अझै बढ्न सकेको छैन ।
गत आर्थिक वर्षमा आयात भएको बसमा सबैभन्दा ठूलो बजार हिस्सा टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले बनाउन सफल भएको छ । कम्पनीले ४९.३५ प्रतिशत बजार हिस्सा लिन ६४९ यूनिट बस आयात गरेको हो ।
टाटालाई पच्छाई रहेको आइएमई मोटर्स आधिकारीक बिक्रेता रहेको अशोक लेल्याण्डले २९६ यूनिट बस आयात गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । कम्पनीले २२.५० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।
तेस्रो स्थानमा रहेको आइसरले १४.४४ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले एक वर्षको अवधिमा १९० यूनिट बस आयात गरेको हो । एमएडब्लू बतासले आइसरका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।
यी तीन बाहेक महिन्द्रा, एसएमएल लगायतका ब्राण्डले १८० यूनिट आयात गरेको देखिन्छ । रोचक त के छ भने २०८० साउनदेखि २०८१ असार मसान्तसम्म कुनै पनि ब्राण्डले एकै महिनामा १०० यूनिट बस पनि आयात गर्न सकेका छैनन् ।
निजी क्षेत्रले लगानी गर्दै आएको सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय माइक्रो भ्यानले ठूलो बजार हिस्सा लिएको कारण ठूला बसको बिक्रीमा गिरावट आएको ब्यवसायीहरु बताउँछन् । कारण जे भएपनि बसको आयात भने खुम्चदै गएको देखिन्छ ।