पावर, पर्फमेन्स र डिजाइनको मिश्रण रहेको रेडारा काठमाडौंमा (फोटोफिचर)

काठमाडौं । सीजी मोटर्सले नेपालको आधिकारिक बिक्रेताको जिम्मेवारी पाएको रेडारा पीकअप काठमाडौं आइपुगेको छ । कम्पनीले ल्याएको रेडारा पीकअप झट्ट हेर्दा पूर्ण एसयूभी लाग्छ ।

नाडा अटो शो २०२४ मा प्रदर्शनी हुने रेडारा पीकअप चिनियाँ कम्पनी जिलीको इलेक्ट्रीक ब्राण्डले उत्पादन गरेको हो । सिजी मोटर्सले जिवीटी चार्जर लाग्ने बनाएर यसलाई बजारमा ल्याएको हो ।

‘हाम्रो झण्डै २०० स्थानमा जिवीटी चार्जर छ । त्यसैले जिवीटीमै रेडारालाई ल्याएका हौं । मुख्य बाटोहरुमा लिएर हिड्दा हाम्रै नेटवर्कमा चार्ज गर्दा पुग्छ’, सीजी मोटर्स स्रोतले भन्यो ।

कम्पनीले सुरूआतमा टु ह्वील ड्राइभ भर्सनमा मात्रै ल्याउन लागेको यो पीकअप ‘जिलीको सस्टेनेवल एक्सपिरीयन्स आर्किटेक्चर प्लेटफर्ममा आधारित मल्टीप्लेक्स अट्याच प्लेटफर्म’मा बन्ने भएको हो ।

जिलीको सस्टेनेवल एक्सपिरीयन्स आर्किटेक्चर प्लेटफर्ममा जीकर, स्मार्ट तथा लोटस जस्ता प्रिमियम ईभी बन्दै आएका छन् । रेडारा पीकअप परम्परागत ‘बडी अन फ्रेम’मा नबरेर नयाँ मानोकर्क विधिमा तयार भएको हो । सैद्धान्तिक रुपमा रेडारा पीकअपमा अफरोड क्षमता हुने छैन ।

चीनमा रेडारा ६३ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध भएको छ । टु ह्वील ड्राइभ भर्सनमा रियर एक्सेलमा २०० किलोवाटको इलेक्ट्रीक मोटर छ । एनइडीसीले यस पीकअपको अधिकतम रेन्ज ३७७ किलोमिटर प्रमाणित गरेको छ ।

रेडारा पीकअपको पेलोड क्यापासिटी ७७५ केजी र टोइङमा २५०० केजी छ । यो पीकअप ८१५ एमएमसम्मको पानीमा गुड्न सक्छ । यो पीकअपको अधिकतम स्पीड १८५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

पीकअपको लम्बाई ५२६० एमएम, चौडाई १९०० एमएम र १८६५ उचाई रहेको छ । यो ईभीमा ३१२० एमएमको ह्वीलबेस रहेको छ । यसमा २२५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

कम्पनीले अहिलेसम्म यसको मूल्यको बारेमा आधिकारीक जानकारी दिएको छैन । तर, कम्पनीले ६० लाखदेखि ६५ लाख भित्रै मूल्य रहने गरी बिक्री सुरु गर्न लागेको हो ।


Back_to_top