कम मूल्यको इलेक्ट्रीक कार बनाउन जुट्यो सिट्रोन, आउला नेपाल ?

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले पनि अर्को वर्ष विद्युतीय कार बजारमा ल्याउने जनाएको छ । सिट्रोनले भारतीय बजारमा उत्पादन गर्ने सानो इलेक्ट्रीक क्रसओभर नेपाल पनि आउने छ ।

कम्पनीले सन् २०२३ मा नै बजारमा ल्याउने घोषणा गरेको नयाँ इभी सिट्रोन सि थ्रीमा आधारित रहने बताइएको छ । सिट्रोनका सीईओ कार्लोस ट्याभेसले मिडियासँग भनेका छन्, ‘हामीले आफ्नो स्मार्ट कार प्रोग्राम अन्तर्गत अहिले भारतमा विद्युतीय कार निर्माणमा काम गरिरहेका छौं । अर्को वर्ष पहिलो इलेक्ट्रीक कार बजारमा आउने छ ।’

धेरै मानिसको पहुँचमा पुग्ने कार बनाउन सिट्रोनले सिएमपी प्लेटफर्म तयार गरेको छ । भारतमा अर्को महिना सिट्रोन सि थ्री मोडल सार्वजनिक गर्ने तयारी भइरहेको छ । १.२ लिटर टर्बो पेट्रोलमा आउने सि थ्रीलाई कम्पनीले अर्को वर्ष इलेक्ट्रीक भर्सनमा ल्याउने अनुमान गर्न सकिन्छ । पेट्रोल इन्जिन युक्त सिट्रोन सि थ्री पनि नेपाल आउने छ ।

कम्पनीले इभी ल्याउने जनाएपनि त्यसमा रहने ब्याट्री, मोटर र टेक्नीकल डिटेलको विषयमा केही कुरा बाहिर आएको छैन ।


Back_to_top