काठमाडौं । टाटा नेक्सन इभीको म्याक्स मोडल ठूलो ब्याट्री, धेरै रेन्ज र बढी पावरको कारण चर्चामा रहेको छ । टाटाले नेक्सन म्याक्स इभीले एक पटकको फुल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने दावी सहित गाडी बजारमा ल्याएसँगै यसको रियल टेष्ट सुरु भएको छ ।
अन्तर्राष्ट्रिय अटो मिडिया अटोकारको भारतीय संस्करणले नेक्सन म्याक्सको वास्तविक सडक परिक्षणपछि रेन्ज सार्वजनिक गरेको छ । ‘रियल वर्ल्ड रेन्ज’ नाम दिएर सार्वजनिक भएको तथ्यांकमा औषत २६३ किलोमिटर रेन्ज आउने उल्लेख छ ।
अटोकारले यसअघि विक्री हुँदै आएको नेक्सन इभीको औषत रेन्ज २०८ किलोमिटर रहने रिपोर्ट सार्वजनिक गरेको थियो । जुन नेपालमा पनि त्यही औषतमा ग्राहकले पाइरहेका छन् ।
अटोकार इन्डियाको अनुसार नयाँ म्याक्स मोडलले हाइवेमा २५९ किलोमिटर र सहरी क्षेत्रमा २६६ किलोमिटर रेन्ज आउने उल्लेख गरेको छ । यी दुबैलाई मिलाएर औषत रेन्ज २६३ किलोमिटर बताएको हो ।
मिडियाले कम्पनीले तोकेअनुसारको टायर प्रेसर, २२ डिग्रि सेन्टीग्रेडको तपाक्रममा सेट गरिएको एसी चलाएर इकोनोमिक मोडमा राखेर परिक्षण गरिएको जनाएको छ ।

नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री, १०५ किलोवाट क्षमताको मोटर र मल्टी रिजेनेरेटीभ मोड यसमा पाउन सकिन्छ । यसमा स्ट्याण्डर्ड ३.३ र अर्को ७.२ किलोवाट क्षमताको चार्जर दिएको छ ।
नेक्सन म्याक्समा पुरानो नेक्सन इभीमा भन्दा केही अन्य फिचरहरु समेत थप भएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि रहेका छन् ।
त्यस्तै, सुरक्षाका लागि म्याक्समा इएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रूज कन्ट्रोलको पनि सुविधा दिइएको छ ।

