काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक कार सीथ्री मार्चबाट विक्री सुरु हुँदैछ । नेपाली बजारमा पनि छिट्टै आउने अनुमान गरिएको सीथ्री विभिन्न दुई भेरियन्टमा उपलब्ध हुने भएको हो ।
नेपाली बजारमा साँग्रिला मोटर्सले विक्री गर्ने सीथ्रीलाई कम्पनीले लाइभ र फीलगरी दुई भेरियन्टमा उपलब्ध गराउने छ । अहिले भारतमा २५ हजार रुपैयाँ बुकिङ रकम तिरेर बुकिङ खुल्ला भएको सीथ्रीमा २९.२ किलोवाट आावर क्षमताको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध रहेको छ ।
सिट्रोन सीथ्रीमा ४२ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ भने १४३ एनएम टर्क प्रदान गर्ने क्षमता छ । यसमा रहेको ब्याट्रीले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । जुन लगभग नेक्सन ईभी प्राइम मोडल बराबर हो ।
सिट्रोन सीथ्री ईभीको लाइभ भेरियन्ट स्ट्यान्डर्ड रुपमा आउने छ । यसमा धेरै फिचर पाउन सकिदैन । कम्पनीले पेट्रोल मोडलमा जस्तै लगभग समान फिचर ईभीमा पनि उपलब्ध गराएको छ । यसमा बडी कलर बम्पर, कनेक्ट कार टेक, एयरकन्डीसन, अगाडि पावर विन्डो, ड्यूल एयरब्याग, इबीडी सहितको एबीएस पाउन सकिन्छ ।
यसको टप भेरियन्ट फिल हो । कम्पनीले यसमा बडी कलरको बम्पर र डोर ह्याण्डल दिएको छ । साथै, यसमा ह्वील आर्क क्लाडिङ, एलइडी डेटाइम रनिङ लाइट, १०.२ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, चार वटा स्पीकर, स्टेरिङ पाउन्टेड अडियो कन्ट्रोल जस्ता फिचर पाउने छन् ।
त्यसैगरी, आफ्नो चाहना अनुसारको हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, डोर लक वार्निङ, स्पीड अनुसार आफै अटो लक हुने ढोका, टिल्ट गर्न मिल्ने स्टेरिङ ह्वील पाउन सकिन्छ ।
कम्पनीले यसको मूल्यको विषयमा अहिलेसम्म कुनै आधिकारीक जानकारी नदिएपनि यसको मूल्य १० देखि १२ लाख भारतीय रुपैयाँ रहने अनुमान गर्न सकिन्छ ।


