दुई महिनापछि नेपाल आउँदै सिट्रोनका दुई नयाँ कार

काठमाडौं । सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री ह्याचव्याक नेपाल आउन अझै दुई महिना लाग्ने भएको छ । कम्पनीले यसअघि नै नेपाल ल्याउने योजना बनाएको सीथ्री मे महिनामा मात्रै नेपाल आउने भएको हो ।

भारतमा विक्री सुरु भएको केही महिनामै नेपाल ल्याउने अनुमाति पाएको सँग्रिला मोटर्सले लामो आयात प्रतिबन्धको कारण गाडी नेपाल ल्याउन पाएको थिएन । अहिले पनि कम्पनीले उत्पादन तयार गरेर नदिएको कारण अझै थप समय लाग्ने भएको हो ।

कम्पनी स्रोतका अनुसार अप्रिलको उत्पादन नेपाल आउने छ । सुरुमा पेट्रोलबाट चल्ने सीथ्री नेपाल आउने र त्यसको एक महिना भित्रमै इलेक्ट्रीक मोडल नेपाल आउने कम्पनी स्रोतले जानकारी दियो ।

‘लामो आयात प्रतिबन्धको कारण हामीले एलसी खोल्न सकेनौं । अहिले सबै प्रक्रिया पुरा भयो, तर अप्रिलको उत्पादन मात्रै दिन्छौ भनेको छ । अप्रिल अन्तिम वा मार्चको पहिलो साता सीथ्री नेपाल आउने छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले सीथ्री पेट्रोलपनि इलेक्ट्रीक भर्सन नेपाल ल्याउने तयारी गरिरहेको छ । यी दुबै मोडल एउटै प्लेटफर्म र डिजाइनमा तयार भएको मोडल हुन् । ह्याचव्याक सेग्मेन्टमा आउने भएपनि यसको साइज सब फोर एसयूभी बराबर भएको कारण धेरैले चासोको साथ यसलाई हेरेका छन् ।

नेपाली बजारमा यसको पेट्रोल र इलेक्ट्रीक दुबै भर्सनको चर्चा बढ्दै गएको छ । कम्पनीले यसको इलेक्ट्रीक भर्सनमा ४२ किलोवाट क्षमताको मोटर दिएको छ । साथै, यसको पेट्रोल भर्सन दुई फरक इन्जिनको साथ भारतमा विक्री वितरण भइरहेको छ ।

कम्पनीले यसको पेट्रोल भर्सनमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड र १.२ लिटर टर्बो इन्जिन दिएको छ । यी दुबै इन्जिन इभीको तुलनमा पावरफुल रहेका छन् ।

सिट्रोन सीथ्रीको इलेक्ट्रीक भर्सनमा २९.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ ।

सिट्रोनका दुबै मोडलको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँ बीचमा निर्धारण भएर विक्री वितरण सुरु हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top