कम मूल्यका पेट्रोल र इलेक्ट्रीक कार खोज्नेलाई नयाँ विकल्प ‘सिट्रोन सी-३’

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले सन् २०२१ बाट नेपालमा सिट्रोनका उत्पादन विक्री सुरु गरेको हो । कम्पनीले फ्रान्सबाट सी-५ एयरक्रस नेपाल ल्याएर विक्री सुरु गरेको थियो ।

गोल्छा अर्गनाइजेशन अन्तर्गतको साँग्रिला मोटर्सले नेपाल ल्याएको सिट्रोन विश्बभर सुन्दर कार निर्माताको रुपमा चिनिन्छ । नेपाल आएको सी-५ एयरक्रसले राम्रो विक्री पाउन सफल भएको छ । महंगो सेग्मेन्टमा आएको कारण धेरै मानिसको पहुँचमा सिट्रोन पुग्न सकेको थिएन ।

अब सिट्रोनको लक्ष्य नेपालमा बजेट कार उपलब्ध गराउने रहेको छ । भारतमा उत्पादन भएको सिट्रोन सी-३ नेपाल ल्याउने तयारी भएसँगै बजारमा धेरै गाडी विक्री गर्ने ब्राण्डहरुको प्रतिस्पर्धामा सिट्रोन पनि उत्रने भएको छ ।

अझ अन्य ब्राण्डको लागि थप चुनौती सिट्रोनको इलेक्ट्रीक मोडलले दिने देखिन्छ । सिट्रोनले क्रसओभर डिजाइनमा तयार पारेको सी-३ निकै सुन्दर देखिन्छ । यो सुन्दर कारको इलेक्ट्रीक र पेट्रोल दुबै भर्सन नेपाल आएपछि बजारमा रोचक भिडन्त देख्न सकिनेछ ।

सिट्रोन सी-३ ले बजारमा उपलब्ध निसान म्याग्नाइट, रेनो काइगरदेखि टाटाले नेपाल ल्याउन लागेको पन्च माइक्रो एसयूभीसम्मका उत्पादनसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली बजारमा पहिला पेट्रोलबाट चल्ने सी-३ आउने छ भने त्यसपछि इलेक्ट्रीक भर्सन उपलब्ध हुनेछ । सम्भवत फागुनको अन्तिमसम्ममा सी-३ नेपाल आइसक्ने छ । कम मूल्यका क्रसओभर कार खोज्नेलाई एक विकल्प बन्ने छ ।

पेट्रोलबाट चल्ने सी-३

सिट्रोन सी-३ मा हाम्रो बाटो सुहाउदो १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । बजारमा चल्तीका साना एसयूभीमा पनि १.२ लिटर क्षमताको इन्जिन नै उपलब्ध रहेका छन् ।

पावर खोज्ने ग्राहकले सी-३ मा टर्बो इन्जिन पनि पाउने छन् । यसमा रहेको नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ ।

त्यसैगरी १.२ लिटर टर्बो इन्जिनमा पनि सी-३ आउने छ । यसको पावर भने ११० एचपी र १९० एनएम टर्क रहेको छ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

सी-३ मा स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील यसमा रहेको छ ।

यसको क्याविनमा १० इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्टायडर्ड रुपमा आउने छन् ।

सिट्रोन सी-३ इलेक्ट्रीक

पेट्रोलबाट चल्ने सी-३ क्रसओभरको इलेक्ट्रीक भर्सन भारतमा केही दिन भित्रै विक्री सुरु हुँदैछ । भारतमा विक्री सुरु भएको केही महिनापछि यो कार नेपाल पनि आउने छ ।

सिट्रोनले आफ्नो पहिलो भारतीय उत्पादनमा २९.२ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ ।

सीथ्री इलेक्ट्रीकमा पीकपावर ४२.५ किलोवाट क्षमताको मोटर दिइएको छ । जुन ५७ हर्स पावर हो । यसले अधिकतम १४३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी कम्पनीले प्रदान गरेको छ । ब्याट्री र मोटर बाहेक अन्य पार्टस्मा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

कारको अगाडि भागमा चार्जिङ पोर्ट दिइएको छ भने, गियर नब भएको स्थानमा रोटेड नब दिइएको छ । यसले गाडीलाई कन्ट्रोल गर्छ । सिट्रोन सीथ्री इलेक्ट्रीकमा चिनियाँ कम्पनी एसभोल्टले बनाएको ब्याट्री प्रयोग गरिएको छ ।

सीथ्रीमा रहेको ब्याट्रीलाई फास्ट चार्जरले ५७ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । होम चार्जरले भने १०.५ घण्टामा फुल चार्ज गर्न सक्छ । कमपनीको अनुसार कम्बस्चनमा जस्तै ईभी पनि लाइभ र फील गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

सीथ्री इलेक्ट्रीकमा १० इन्चको फराकिलो टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टमको साथमा सी-बडी कनेक्टिभिटी टेक्नोलोजी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सिरी तथा गुगल असिस्टेन्ट सहितको भ्वाइस कमाण्ड फिचर उपलब्ध रहने छन् ।

सुरक्षाको लागि ड्यूल एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, इन्जिन कुलिङ सिस्टम, हाई स्पीड अलर्ट सिस्टम र स्पीड सेन्सिङ अटो डोर लक लगायत पाउन सकिन्छ ।


Back_to_top