२०२४ भित्रै टीभीएसले इलेक्ट्रीक मोटरसाइकल ल्याउने !

काठमाडौं । टीभीएस मोटर्सले इलेक्ट्रीक सेग्मेन्टमा प्रिमियम दुईपांग्रे बनाउने भएको छ । कम्पनीले ५ किलोवाटदेखी २५ किलोवाट क्षमताको मोटर प्रयोग गरेर नयाँ मोडल बनाउने भएको हो ।

टीभीएसले अबको १८ महिना भित्रमा इलेक्ट्रीक सेग्मेन्टमा नयाँ उत्पादन बजारमा ल्याउने बताएको हो । कम्पनीका निर्देशक तथा सीईओ के एन राधाकृष्णनले अबको १८ महिनामा धेरै इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने योजना रहेको बताएका छन् । नयाँ आउने मोडलहरू ५ किलोवाटदेखि २५ किलोवाट क्षमताको हुने उनले बताए ।

ब्याट्रीको बारेमा सोधिएको प्रश्नमा उनले कुनै जनाकारी दिएनन् । टीभीएसले हाल उत्पादन तथा विक्री गर्दै आएको इलेक्ट्रीक स्कुटर आइक्यूबमा ४।४ किलोवाट क्षमताको मोटर रहेको छ । कम्पनीले ल्याउने नयाँ मोडल मोटरसाइकल समेत हुने अनुमान गरिएको छ । २५ किलोवाट मोटर क्षमताको मोटरसाइकल हुने अनुमान रहेको छ ।

टीभीएसले नयाँ मोडलको बारेमा धेरै जानकारी बाहिर ल्याएको छैन । टीभीएस आइक्यूब भारतीय बजारमा हाइस्पीड स्कुटरमा सबैभन्दा धेरै विक्री हुने स्कुटरमा पर्छ । पछिल्लो समय मासिक ८ हजार यूनिटभन्दा धेरै आइक्यूब विक्री भइरहेको छ ।

राधाकृष्णनका अनुसार आइसीइ इन्जिनको नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी समेत भइरहेको छ । कुन मोडल आउँछ भन्ने जानकारी भने उनले दिएका छैनन् ।


Back_to_top