काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो कार सीथ्रीको मूल्य सार्वजनिक भएको छ । आजबाट भारतमा विक्री सुरु भएको सीथ्रीको मूल्य ५ लाख ७० हजारदेखि ८ लाख ५ हजार भारतीय रुपैयाँसम्म तोकेर विक्री सुरु भएको हो ।
यो मूल्य सार्वजनिक भएसँगै सीथ्री सर्वाधिक सस्तो यूरोपीयन एसयूभी बनेको छ । कम्पनीले दुई इन्जिन अप्सन र ६ भेरियन्टमा ल्याएको सीथ्री निकै आकर्षक मूल्यमा सार्वजनिक भएको हो । साँग्रिला मोटर्सले चाँडै नेपाल ल्याउने तयारी गरेको सीथ्रीको नेपालमा मूल्य २८ लाखदेखि ४० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।

सिट्रोनले आफ्नो सब फोर मिटर कारलाई १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिनमा ल्याएको छ । टर्बो इन्जिनमा एउटा मात्रै ‘फिल ड्यूलटोन भाइब’ भेरियन्ट सार्वजनिक गरेको छ । भारतमा यसको एक्स शोरुम मूल्य ८ लाख ५ हजार ५०० भारतीय रुपैयाँ तोकिएको छ ।
सीथ्रीको इन्ट्री लेभल भेरियन्ट लाइभ हो । त्यसपछि ‘फिल’ भेरियन्ट हो । फिल भित्र भाइब, फिल ड्यूल टोन, फिल ड्यूलटोन भाइब भेरियन्ट उपलब्ध रहेको छ । यी भेरियन्ट मध्ये नेपाली बजारमा कुन कुन भेरियन्ट आउने छ, त्यो विषयमा अहिल्यै भन्न सकिने अवस्था छैन ।
सिट्रोनले सीथ्री मोडलमा दुई वर्ष वा ४० हजार किलोमिटरको भेहिकल वारेन्टी र एक वर्ष वा १० हजार किलोमिटर एसोसरिज र पार्टस्मा वारेन्टी प्रदान गरेको छ ।

सिट्रोनले दिएको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १.२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
धेरै हदसम्म सिट्रोन सि फाइभबाट प्रेरित डिजाइन र फिचर यसमा पाउन सकिन्छ । स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील यसमा पाउन सकिन्छ ।
सिथ्रीको क्याविनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्टायडर्ड रुपमा आउने छन् ।

