काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र व्यवसायिक रुपमा पार्किङ भनि निर्माण गरे १० वर्षसम्म सम्पत्ति कर छुट पाइने भएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐन २०८२ ले यस्तो छुट सुविधा दिएको हो ।
महानगरले पार्किङ भवन निर्माणलाई प्रोत्साहन गर्दै कर छुट दिएको हो । आर्थिक ऐन अनुसार व्यवसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरी प्रयोगमा ल्याएमा निर्माण सम्पन्न भएको मितिले १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।
‘व्यवसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरी प्रयोगमा गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रफलको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ,’ ऐनमा भनिएको छ ।
तर, फ्लोर एरिया रेसियोको सुविधा लिई स्वीकृत गरेको भवनको सवारी साधन पार्किङ क्षेत्रलाई त्यस्तो सुविधा उपलब्ध नहुने उल्लेख गरिएको छ ।

