नयाँ सेग्मेन्ट लिडर बन्न सक्ने ‘दीपल एस–०५’ चालाएर हेर्दा…

काठमाडौं । दीपलको एस-०५ एसयूभी काठमाडौं आइपुगेको छ । काठमाडौं आएसँगै मैले छोटो दुरी चलाउने मौका पाएँ ।

दीपलको एस-०७ एसयूभीले डिजाइन, फिचर र लग्जरीमा बजारलाई ‘लिड’ गरिसकेको छ । यस्तोमा कम्पनीको दोस्रो एसयूभीको रूपमा नेपाल आइपुगेको एस-०५ लाई छोटो ड्राइभ गर्ने अवसर मिल्यो ।

मैले यसलाई नक्साल स्थित शोरुमबाट दबारमार्ग, केशरमहल, उत्तरढोका, गैह्रीधार हुँदै फेरि नक्सालसम्म चलाएँ । यति छोटो ड्राइभमा भेरिएका कुरा बारे जानकारी दिने उद्देश्यले यो ‘सर्ट ड्राइभ’को अनुभव सेयर गरेको हुँ ।

छोटो ड्राइभपछि दुई शब्दमा भन्दा ‘दीपल एस-०५को पावरले लोभ्याउँछ, फिचरले तान्छ ।’

दीपल एस-०५ निकै पावरफुल लाग्छ । इन्ट्यान्ट पावर र टर्क निकै उत्कृष्ट छ । एस-०७ को सक्सेसर मोडलको रुपमा आएको एस-०५ मा पावर पनि बढी लाग्छ । ९९ किलोवाटको मोटर भएर पनि तौल कम र साइज ४.५ मिटर भएको कारण पावरको कमी महसुस हुँदैन ।

यसको क्याबिन पनि निकै उत्कृष्ट छ । सफ्ट टच मेटेरियलले बनेको क्याबिन र निकै आरामदायी सिटको कारण भित्र पस्ने बित्तिकै चालक होस् या यात्रु दुवैलाई आकर्षित गर्न सक्षम छ ।

एसी भेन्ट ‘मेन्युअल’ तरिकाले मिलाउन सकिन्छ । जुन यसअघिको मोडल एस-०७ मा डिजिटल क्लष्टरको सहयोगमा मिलाउनु पथ्र्यो । म्यानुअल हुँदा आवश्यक दिसामा हावा पठाउन सहज हुने भयो ।

हेडअप डिस्प्ले, भ्यान्टिलेटेड र हिटेड सिट, निकै स्पोर्टी लाग्ने टु स्पोक स्टेरिङ ह्वील, स्पीकरको सहायताले गाडी भित्र बोलेको आवजदेखि म्युजिकसम्म बाहिर सुन्न सकिने जस्ता फिचर निकै उपयोगी छन् ।

प्रिमियम लेदर सिट, ठूलो बुट स्पेस, अगाडि पनि सामान राख्न बनाएको स्थान, अगाडिको प्यासेन्जरको लागि दिइएको ‘नी सपोर्ट’ जस्ता कुराले एस-०५ प्राक्टिकल एसयूभी बनेको छ ।

यसले बजारमा कस्तो प्रभाव पार्छ र यसको मूल्य लगायतका विषयमा जानकारी पाउन भने अझै केही दिन कुर्नु पर्ने हुन्छ । मैले टेस्ट ड्राइभ गरेर उल्लेख गरेका विषय तपाईंलाई कस्तो लाग्छ भन्ने थाहा पाउन कम्तीमा नाडा अटो शो २०२५ सम्म कुर्नु पर्ने हुन्छ ।

एमएडब्लू वृद्धिले यसलाई भदौ ३ गतेबाट आयोजना हुने नाडा अटो शोबाट बुकिङ खुला गर्ने योजना बनाएको छ ।


Back_to_top