काठमाडौं । अटोमोबाइल बजार तुलनात्मक रूपमा अघिल्लो वर्षभन्दा मन्दीमा देखिएको छ । बजार मन्दीमा भएपनि केही उत्पादनले राम्रै व्यापार गरिरहेका छन् ।
विद्युतीय कारको बढ्दो बिक्रीमा चिनियाँ उत्पादनको वर्चश्व कायम छ । एउटा रफ्तारमा अगाडि बढेको ईभीको बिक्रीमा पछिल्लो दिन नेपाल राष्ट्र बैंकले भ्यालू टु लोन रेसियो चलाएसँगै बिक्रीको रफ्तार कमजोर भएको हो ।
पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा निकै सस्ता विद्युतीय कार बजारमा करिब चार दर्जन मोडल छन् । त्यस मध्ये पनि अहिलेको खडेरीमा केही मोडलले निकै राम्रो व्यापार गरिरहेका छन् ।
बीवाइडी डल्फिन, जेको जे-६, एमजी एस-५, डोङफेङ नामी जस्ता मोडलले उपभोक्ता तानिरहेका छन् । यी कार अहिले पनि आफ्नो सेग्मेन्टमा सफल मोडल हुन् । यी कारहरू बजारमा निकै सफल हुनुको पछाडि धेरै कारण छन् । ती मध्ये हामीले यहाँ केही कुरा उल्लेख गरेका छौं ।
मूल्यको कारण सफल
अहिले बजारमा सर्वाधिक बिक्री भइरहेका चार चिनियाँ कार मध्ये डोङफेङ नामी, बीवाइडी डल्फिन र एमजी एस-५ मूल्यको कारण चर्चामा छन् । यी तीन वटै मोडल साइजका हिसाबले फरक छन् । डल्फीन र नामी ह्याचब्याक हुन् । तर, एमजी एस-५ क्रसओभर एसयूभी हो ।

नामी किन्नेले ३० लाख रुपैयाँ तिर्दा पुग्छ । डल्फिन ४१ लाख र एस-५ को मूल्य ४४ लाख छ । त्यसैले यी कारको बिक्रीमा सबैभन्दा महत्वपूर्ण भूमिका मूल्यले खेलेको देखिन्छ ।
जबकी जेको जे-६ को बिक्री फरक बडी डिजाइनको कारण भएको हो । अन्य तीन मोडलभन्दा यसको मूल्य बढी छ । ७० लाख रुपैयाँ मूल्य रहेको जे-६ बक्सी डिजाइनको कारण धेरै युवाहरूको रोजाइमा पर्दै आएको छ ।
फिचरमा नो कम्प्रमाइज
विद्युतीय साधनको आयातसँगै फिचर लोडेड कारहरू ३० लाखमै पाउन थालिएको छ । यी सबै कारमा सुरक्षाको लागि एडास फिचर पाउन सकिन्छ । प्रिमियम सिट, लग्जरी क्याविन, उत्कृष्ट ड्यासबोर्ड जस्ता कुरा सबै मोडलमा पाउन सकिन्छ ।

प्रशस्त लेगरुम, इलेक्ट्रीकल्ली एड्जस्टेवल ड्राइभिङ सिट, एड्जस्टेबल स्टेरिङ ह्वील, विभिन्न ड्राइभ मोड सबै गाडीमा पाउन सकिन्छ । तात्विक रूपमा भन्ने हो भने गाडीको साइज, ब्याट्री साइज र मोटर पावर बाहेक अन्य धेरै कुरा फरक पाउन सकिँदैन ।
रेन्ज ३०० किलोमिटर माथि
नामीको सर्ट रेन्ज भेरियन्ट छाड्ने हो भने अन्य सबैको रेन्ज ३०० किलोमिटर माथि छ । नामीमा रहेको ४२.३ किलोवाट आवरको ब्याट्रीले ३०० किलोमिटर रेन्ज दिन्छ । यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।
बीवाइडी डल्फीनमा ४४.९ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ । यसमा पनि ७० किलोवाटको इलेक्ट्रीक मोटर छ ।
एमजी एस-५ मा ४९ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीले पनि ३४० किलोमिटर रेन्ज दिन्छ । यसमा ९९ किलोवाटको मोटर छ ।

सबैभन्दा महंगो र पृथक मोडल जे-६ मा ६५.६९ किलोवाट आवरको ब्याट्री छ । यसको रेन्ज पनि ४०० किलोमिटर रहेको डब्लूएलटीपीले जनाएको छ । यसमा मोटर भने १३५ किलोवाटको छ ।
बलिया आयातकर्ता र नेटवर्क
नेपालमा लामो सयमदेखि अटोमोबाइल व्यवसायको अनुभव भएका व्यवसायीक घरानाले यी कम्पनीका गाडी चीनबाट ल्याएर बिक्री गर्दै आएका छन् । बीवाइडी विश्व न्यू इनर्जी भेहिकलको पायोनियर ब्राण्ड हो ।
चिनियाँ उत्पादकले बीवाइडीका विद्युतीय गाडी नेपालमा सन् २०१७ देखि उपलब्ध छ । बीवाइडीको एटो-३ को सफलता झनै बलियो छ । नेपालभर १९ वटा डिलर नेटवर्क भएको बीवाइडी पछिल्ला दुई वर्षदेखि ठूलो कारोबार गर्ने ब्राण्डमा पर्छ ।
नामी बिक्री गर्दै आएको एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले नेपालमा अटोमोबाइल व्यवसाय थालेको ५ दशक पूरा भइसकेको छ । उसले आफ्नो अनुभव र नेटवर्क प्रयोग गर्दै नामीका गाडी बिक्री गरिरहेको छ ।

एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । देशका दुई व्यवसायिक घराना विशाल ग्रुप र मुरारका ग्रुपको लगानी रहेको पारामाउन्टले पनि सन् २०१८ देखि नै नेपालमा ईभी ल्याउन थालेको हो ।
अर्को व्यवसायिक घराना सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइलले बिक्री गर्दै आएको ओमोडा/जेको ब्राण्डले नेपालमा भर्खरै एक वर्ष पुरा गरेको छ । तर, सारडा ग्रुपले धेरै अगाडिदेखि गाडी कारोबार गर्दै आएको थियो । कम्पनीले डाट्सन, निसान जस्ता ब्राण्ड बिक्री गर्दै अटोमोबाइल व्यवसायमा आफूलाई खारेको हाे ।

