तीव्र गतिमा चार्ज हुने भयो सी-१० एसयूभी, मूल्य पनि व्यापक कटौती

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरले आफ्नो ग्लोबल मोडल सी-१० लाई तिब्र गतिमा चार्ज हुनेगरी अपग्रेड गरेको छ । आगामी सोमबारबाट चीनमा बिक्री सुरु हुन लागेको सी-१० एसयूभीको अपग्रेडसँगै मूल्य पनि घटेको हो ।

स्टेलान्टीस ग्रुपको समेत लगानी रहेको लीपमोटरले सी-१० एसयूभी २ हजार अमेरिकी डलरले मूल्य घटाएर बजारमा ल्याउन लागेको हो । यसअघि १९ हजार डलर सुरुवाती मूल्य रहेको सी-१० एसयूभी अब १७ हजार डलर सुरुवाती मूल्य कायम गर्दै बिक्री सुरु हुन लागेको हो ।

कम्पनीले यसअघि ४०० भोल्ट आर्किटेक्चरमा बनाएको सी-१० एसयूभी अब ८०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । कम्पनीले गरेको नयाँ अपडेटमा आर्किटेक्चर बाहेक ब्याट्री प्याक पनि हो ।

कम्पनीका अनुसार नयाँ सी-१० एसयूभीमा ७४.९ किलोवाट आवरको एलएफपी ब्याट्री रहनेछ । ८०० भोल्ट आर्किटेक्चरमा बनेको कारण चार्ज र डिस्चार्ज तीव्र गतिमा हुनेछ । यसलाई ३० देखि ८० प्रतिशत चार्ज गर्न केबल १६ मिनेट लाग्नेछ ।

यसअघि १६० किलोवाट आवरको मोटरमा उपलब्ध लीपमोटर सी-१० को चिनियाँ भर्सनमा २२० किलोवाटको नयाँ मोटर दिएको छ । नेपाली बजारमासमेत सफल मोडल कुन मोटर साइजमा उपलब्ध हुन्छ भन्ने एकिन जानकारी बाहिर आएको छ ।

कम्पनीले अर्को मुख्य कुरा नयाँ सी-१० एसयूभीमा ‘क्वालकम स्न्यापड्रागन ८२९५पी’ प्रोसेसर दिएको छ । यसको कारण कारको सूचना प्रणाली पहिलेभन्दा निकै धेरै सुधार भएको छ । इन्ट्रीग्रेटेड लाइडार सेन्सर, इलेक्ट्रीक पावर्ड डोर ह्याण्ड, ५० किलोवाटको वायरलेस चार्जर प्याड यसमा पाउन सकिन्छ ।


Back_to_top