वैशाखमा मात्रै रसुवागढीबाट भित्रिए डेढ अर्बको ईभी, कति युनिट ल्याए ?

काठमाडौं । वैशाख महिनामा मात्रै रसुवागढी भन्सार नाका हुँदै डेढ अर्ब रुपैयाँ बराबरको सवारी साधन भित्रिएका छन् ।

रसुवागढी भन्सार कार्यालयका अनुसार वैशाखमा मात्रै १ अर्ब ४९ करोड रुपैयाँ बराबरको कुल ६०५ युनिट गाडी भित्रिएका हुन् ।

जसमा ५०० युनिट विद्युतीय कार, जीप, भ्यान र १०५ युनिट माइक्रोबस, मिनी ट्रक, लरी रहेका छन् । उक्त सवारी आयात बापत वैशाखमा सरकारले ९० करोड रुपैयाँ राजस्व पाएको छ ।

त्यस्तै, वैशाखमा चीनबाट आयात गरिएको ५०० बढी सवारी साधन भन्सार जाँचपास हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधन (ईभी)मा कर बढ्ने हल्लाका कारण व्यवसायीहरूले वैशखमा ईभीको आयात बढाएका हुन् ।

चालु आवको १० महिनामा रसुवागढी भन्सार कार्यालयबाट कुल ५ हजार ७०१ युनिट सवारी साधन आयात भएका छन् । कुल १३ अर्ब ७७ करोड रुपैयाँ बराबरको सवारी साधन भित्रिएका हुन् ।

चालु आवमा रसुवागढीबाट भदौमा सबैभन्दा धेरै १ हजार युनिट गाडी भित्रिएका थिए ।

रसुवागढीबाट मुख्यगरी बीवाइडी, एमजी, जेको जे ६, एक्सपेङ, रिडारा लगायत ब्राण्डका विद्युतीय सवारी साधन भित्रिन्छन् ।


Back_to_top