म मात्रै होइन, मैले चलाएको ट्रेकर २५० पनि ‘ट्रेल’ पास भयो

काठमाडौं । एक मोटरसाइकल ‘प्रेमी’को हिसावले मोटरसाइकल राइडमा जानु आफैमा रोमान्चक हुन्छ । अझै ‘ग्रुप राइड’ भनेपछि के चाहियो र । त्यसमा पनि एड्भेन्चर मोटरसाइकलमा अलग पहिचान बनाएको क्रसफायरले गर्ने ग्रुप राइडको तस्विरहरु उसको आधिकारिक फेसबुक पेजमा हेर्दै लाइक गर्दै बस्ने मलाई ‘क्रसफायर एड्भेन्चर राइड नुवाकोट २०२१’ मा सहभागी हुने अवसर मिल्यो ।

गत शनिवार सम्पन्न भएको क्रसफायर राइडमा २५ जना क्रस फायर राइडर सहभागी थियौं । जसमा कम्पनीका ४ जना, मिडियाबाट म र अर्का एकजना तथा अन्य क्रसफायरका ग्राहकहरु थिए ।

नुवाकोट जाने तीन वटै बाटो मेरा लागि परिचित थिए । यस अघि नै २ पटक म नुवाकोट गइसकेको थिए । क्रसफायरको आइटीनरीमा रुट भने टोखा छहरेको बाटो हुँदै नुवाकोट दरवारसम्म भनिएको थियो ।

मैले अफिसको दाईसँग सोधे टोखा छहरे बाटो त अहिले सजिलो नै होला ? पहिला म जाँदा साह्रै खराव थियो, त्यो बाटो । बाटो सबै सजिलो भएको दाईबाट जानकारी पाए पश्चात मन हर्षित भयो । अलिअलि अफरोड होला रमाइलो नै हुन्छ ।

एड्भेन्चर टुरमा मलाई डर लाग्ने अर्को कारण थियो आफुले खराब बाटोमा धेरै राइड गरेको थिइन । यसअघि क्रसफायरले फेसबुकमा राखेका राइडका फोटोहरु देखेको थिए, अनि अर्को कुरा मैले राइड गर्ने भनिएको मोटरसाइकल थियो क्रसफायरले हालै मात्र नेपाली बजारमा सार्वजनिक गरेको ट्रेकर २५० डवल स्पोर्टस मोटरसाइकल ।

आफुले यसअघि नचलाएको ट्रेकर २५० केही दिनअघि मात्रै विक्री सुरु भएको थियो । यो मोटरसाइकल कम मूल्य र धेरै पावरको कारण चचामा रहेको छ । कम्पनीले नयाँ मोटरसाइकल भएको कारण हामी २ जना मिडियाकर्मीलाई त्यही नयाँ भर्सन क्रसफायर ट्रेकर २५० राइडका लागि उपलब्ध गराएको थियो । अन्य सबै राइडरसँग क्रसफायर आरएम २५०, एचजे २५० जस्ता मोटरसाइकल थियो ।

यात्रा सुरु भयो क्रसफायरको चक्रपथमा रहेको सुविधा सम्पन्न शोरुम तथा सर्भिस सेन्टरबाट । केही बेरको राइडमा हामी काठमाडौंको धुवाधुलो छिचोल्दै शिवपुरी नेशनल पार्कको टपमा पुग्यौं । त्यहाँसम्मको बाटो पिच थियो । त्यसपछि सुरु भयो क्रसफायर एड्भेन्चर राइड नुवाकोट २०२१ को असली यात्रा । कुहिरोले ठम्म ढाकेको थियो । शिवपुरीबाट केही तल झरेर हामीले टोखा छहरे सडकलाई छाड्यौं ।

त्यसपछि सुरु भएको अफरोड यात्रा निकै रोमाञ्चक भयो । हाम्रो यात्रा अफरोड भन्न पनि नमिल्ला, केही वर्ष पहिला खनेर छाडिएको ट्रेल जस्तो कतै घाँसैघाँग कतै हिलो कतै धुलो । कतै ठाडो ओराले त कतै ठाडो उकालो । केही समय मोटरसाइकल चलाउन असहज जस्तो भयो तर, ग्रुप राइडको मजा के हुन्छ भने साथिहरुको हौसलाले जस्तो सुकै गाह्रो बाटो पनि मोटरसाइकल चलाउन सकिन्छ ।

यस्ता यात्रामा राइडहरुको साथ र हौसला प्राप्त हुन्छ । त्यती मात्र होइन क्रस फायर ट्रेकर २५० ले समेत मलाई धेरै ठाउँमा हौसला प्रदान गर्यो । अन्य राइडर सहजै जान नसकेको ठाउँमा ट्रेकर सहजै गयो । कतिपय उकालोमा ट्रेकर सजिलै उक्लियो । यो यात्रामा म मात्र होइन, मैले चलाएको क्रसफायर ट्रेकर २५० पनि अफरोड ‘ट्रेल’मा पास भयो ।

बाटो यस्तो थियो कि गुगल म्यापले समेत नदेखाउने जंगल, भिर पाखो हुँदै हामी छहरे निस्कियौं । छहरेदेखि चौघडा भन्ने ठाउँसम्मको बाटो पिच थियो । एकै छिन चिल्लो बाटोमा हिडेका थियौ, त्यसपछि सुरु भयो ठाडो उकालो । त्यो पनि रातो माटो भएको । कति राइडहरुले मोटरसाइकल लडाए, कतिको मोटरसाइकल सजिलै उक्लिन सकेन । मेरो क्रसफायर ट्रेकर २५० सजिलै उक्लियो ।

मेलै एक गियर त कम नै मात्र उकालोमा प्रयोग गरे । यसको एक मात्र श्रेय ट्रेकर २५० लाई दिनु पर्ला । अन्य मोटरसाइकल सजिलै जान नसकेको उकालोमा ट्रेकर सजिलै जान सक्नुको पनि केही कम्पनीले पछि जानकारी दियो ।

यो मोटरसाइकल एकदमै पावरफुल, त्यस्तै यसको तौल एकदमै कम त्यसमा पनि मेरो आफ्नो तोल पनि कम भएको कारण ट्रेकर २५० सजिलै नुवाकोट दरवार पुग्यो । हाम्रो गन्तव्य भनेको दरवारभन्दा केही माथि रहेको ‘दि फेमस फार्म नुवाकोट’ थियो । साँझमा पुगेर फार्म हाउमा खुव रमाइलो गरियो । शनिवार विहान लन्च गरेर टोखा छहरेको बाटो सडक सडकै काठमाडौं आइयो । क्रसफायरले जुराएको यो क्रसफायर एड्भेन्चर राइड नुवाकोट २०२१ अविस्मरणीय रह्यो ।


Back_to_top