दीपल र प्रोटोनका दुई एसयूभीमा टक्कर पर्ने, बिजेता बन्ने सम्भावना कसको बढी ?

काठमाडौं । केही दिन अगाडि दुई युनिट प्रोटोन इमास-सेभेन नेपाल आयो । चिनियाँ कम्पनी जिलीले बनाएको ग्यालेक्सी इ-फाइभलाई प्रोटोनको लोगो र नयाँ इमास-सेभन नाम दिएर ल्याएको हो ।

मलेशियन अटोमोवाइल कम्पनी प्रोटोनमा जिली होल्डिङको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । पहिलादेखि नै मलेशियन ब्राण्ड प्रोटोन बिक्री भइरहेको देशमा इमास-सेभेनको नाममा लन्च हुने भएकोले नेपालमा पनि प्रोटोन ब्राण्डमा आएको हो ।

जीकर टेक्नोलोजी युरोपले विकास गरेको ‘ग्लोबल इन्टेलिजेन्ट न्यू इनर्जी आर्किटेक्चर’मा बनेको इमास-सेभेन क्रसओभर एसयूभी हो । यसलाई जगदम्बा मोटर्सले चाँडै बिक्री थाल्दैछ ।

त्यसैगरी नेपाल आएको छोटो समयमा नै दीपल एस-०७ क्रसओभर एसयूभीले रेकर्ड बिक्री बनायो । ठूलो साइजको कारले नै बजार तताएको दीपलले पनि नयाँ मोडल नेपाल ल्याउने भएको छ ।

कम्प्याक्ट क्रसओभर डिजाइनमा आउने एस-०५ मोडल दीपलको नेपालमा चौथो मोडल हुनेछ । यसअघि एस-०७ एसयूभी, एल-०७ सेडान र ई-०७ ट्रास्मफर्मर एसयूभी ल्याएर बिक्री सुरु गरिसकेको छ ।

दीपलले चौथो मोडलको रुपमा ल्याउँदै गरेको एस-०५ गत अक्टुबरमा मात्रै लन्च भएको हो । छोटो समयमा नै चिनियाँ ईभी बजारमा चर्चा कमाउन सफल एस-०५ मार्चमा नेपाल आउने बताइएको छ ।

साइज र तौलमा लगभग समान रहेको दिपलको एस-०५ र प्रोटोन इमास-सेभेनको वीचमा रहेका भिन्नतालाई यहाँ केलाउने प्रयास गरेका छौं ।

साइज

प्रोटोनको इमास-सेभेनको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । यसको ह्वीलवेस २७५० एमएम र ग्राउन्ड क्लियरेन्स १७३ एमएम छ ।

प्रोटोन इमास-सेभेन लाइट र म्याक्स गरी दुई भेरियन्टमा नेपाल आउने छ । यसको लाइट भेरियन्टमा १८ इन्चको ह्वील छ । म्याक्समा भने १९ इन्चको ह्वील पाउन सकिन्छ । दुबैको भेरियन्टमा समान ४६१ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ ।

त्यसैगरी दीपल एस-०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २८८० एमएम लामो ह्वील वेस छ ।

दीपलले एस-०५ मोडलमा १८ इन्चको ह्वील दिएको छ । नेपाल आउने स्पेकको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको एस-०५ को चिनियाँ स्पेकमा १६० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ । दीपल एस-०५ को फ्रन्ट ट्रङकमा १५९ लिटर र बुटमा ४९२ लिटरको बुट स्पेस पाउन सकिन्छ ।

ब्याट्री र मोटर पावर

गाडी किन्नेले साबैभन्दा धेरै सोध्ने प्रश्न त्यसको ब्याट्री पावर र मोटर साइज हो । ब्याट्री साइजले रेन्ज र मोटर पावरले कर निर्धारण हुने भएको कारण यसमा धेरैको चासो भएको हो ।

दीपल एस-०५ मा ५६.१ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको ब्याट्री छ । यसको डब्लुएलटीपी रेन्ज बाहिर आएको छैन । चिनियाँ सीएलटीसीले भने ५१० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।

दीपल एस-०५ इलेक्ट्रीक एसयूभीमा रियर ह्वील ड्राइभ १७५ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यो मोटरले ३२० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

प्रोटोन इमास-सेभेनमा ४९.५२ र ६०.२२ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । यसमा ब्याट्री जिली र सीएटीएलले संयुक्त रुपमा विकास गरेको ‘एजीज् सर्ट ब्लेड ब्याट्री’ प्रयोग भएको छ ।

यसमा रहेको सानो साइजको ब्याट्रीले सिंगल चार्जमा ३४५ र ठूलो साइजको म्याक्स भेरियन्टले ४१० किलोमिटर रेन्ज दिने डब्लुएलटीपी रेन्ज दिन्छ । यो ब्याट्रीलाई ११ किलोवाटको एसी र १०० किलोवाटकोे डिसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।

प्रोटोन इमास-सेभेनमा १६० किलोवाटको १२ इन वान इन्ट्रीगेटेड मोटर दिएको छ । यो मोटरको पीक टर्क ३२० न्यूटन मिटर छ । यसको अधिकतम गति १७५ किलोमिटर प्रतिघण्टा रहेको हो ।

क्याविन फिचर

इमास-सेभेनमा १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, १५.४ इन्चको टचस्कृन डिस्प्ले, विण्डसिल्ड हेडअप डिस्प्ले रहेको छ । लेदरेट सिट, मल्टीफङ्सनल एन्टी व्याक्टेरियल स्टेरिङ ह्वील दिइएको छ ।

प्रोटोनले यसमा सिक्स वे पावर ड्राइभर सिट, भेन्टीलेटेड फ्रन्ट सिट, २५६ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, १६ स्पीकर सहितको फ्लाइमीको साउण्ड सिस्टम, अटोमेटिक एसी, भेहिकल टु लोड फिचर, पानारोमिक सनरुफ दिएको छ ।

दीपल एस-०५ मा १५.४ इन्चको सिंगल सेन्टर स्कृन तथा ड्राइभर इन्फर्मेसनको लागि अगुमेन्टेड रियालिटी हेडअप डिस्प्ले दिएको छ । अन्य क्याविन फिचरको रुपमा डी आकारको मल्टिफङ्सनल स्टेरिङ ह्वील, लेदरेट सिट दिइएको छ ।

पावर्ड एण्ड हिटिङ ड्राइभर सिट, ५० वाटको वायरलेस चार्जर, बिल्ड इन डीभीआर, १४ वटा स्पीकर सहितको प्रिमियम साउण्ड सिस्टम, अटोमेटीक एसी, ६४ कलरको एम्बीयन्ट लाइट जस्ता फिचर दिइएको छ ।

सेफ्टी फिचर

प्रोटोन इमास-सेभेनमा सुरक्षा फिचरको लामो लिस्ट नै छ । यसमा ६ वटा एयरव्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रीक स्टेबिलीटी कन्ट्रोल, एक्टीभ रोलओभर प्रोटेक्सन, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल दिइएको छ ।

त्यसैगरी, फ्रन्ट र रियरमा पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा तथा १५ वटा फिचर रहेको लेभल २ एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) रहेको छ ।

दीपल एस-०५ मा पाँच वटा हाइ डेफिनेसन क्यामरा, फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार सहितको एड्भान्स ड्राइभर असिस्ट सिस्टम रहेको छ । यसमा ६ वटा एयरव्याग, ५४० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रीक स्टेबिलीटी कन्ट्रोल, एक्टीभ रोलओभर प्रोटेक्सन, हिल होल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल जस्ता सेफ्टी फिचर छन् ।

मूल्य

जगदम्बा मोटर्सले भित्राएको इमास-सेभेन भन्सार छुटाउँदा अधिकतम खुद्रा बिक्री मूल्य लाइट भेरियन्टको ५८ लाख ९० हजार र म्याक्स भेरियन्टको ६८ लाख ९० हजार रुपैयाँ घोषणा गरको थियो ।

एमएडब्लु वृद्धिले अहिलेसम्म गाडी ल्याइसकेको छैन । त्यसैले कम्पनीले यसको मूल्य अहिलेसम्म बाहिर ल्याएको छैन ।

दुबै गाडी फिचरका हिसावले राम्रा छन् । मूल्य दुबैको अझै एकिन भएको छैन । सँगै ब्राण्डको रणनीति र ग्राहकमैत्री स्कीमले उपभोक्ताले प्रोडक्ट रोज्ने हुन् । यी दुबै मोडल बजारमा सफल हुनसक्ने मोडल हो ।


Back_to_top