काठमाडौं । फरक डिजाइन र उत्कृष्ट पर्फर्मेन्स भएको ओमोडा र जेकोका एसयूभी नेपालमा ८०० युनिट पुरा भएको कम्पनीले जनाएको छ । ओमोडा जेकोको आधिकारीक बिक्रेता स्पीजी अटोमोवाइलले ८०० युनिट बिक्री पुरा भएको अवसरलाई विशेष रुपमा मनाएको हो ।
सन् २०२४ को मार्चबाट ओमोडा ई-५ नेपाल ल्याएर बिक्री थालेको कम्पनीले सेप्टेम्बरमा जेको जे-६ को बुकिङ खुल्ला गरेको थियो । कम्पनीले बिक्री गर्दै आएको दुई एसयूभी विल्कुलै फरक डिजाइनमा उपलब्ध छ ।

जेको जे-६ बक्सी डिजाइनमा तयार भएको लाइफ स्टाइल एसयूभी हो । त्यसैगरी एपीजी अटोमोवाइलले पहिला बिक्री सुरु गरेको ओमोडा ई-५ क्रसओभर कुप्पे डिजाइनमा तयार भएको एसयूभी हो । दुबै मोडल नेपाली बजारमा बिक्री सुरु भएको पहिलो वर्षमा नै सफल मोडल बनेका हुन् ।
‘हामीले एक वर्षभन्दा कम समयमा ८०० युनिट गाडी बिक्री पुरा गरेका छौं । ग्राहकलाई उत्कृष्ट प्रोडक्ट, छिटो छरितो सर्भिस र पार्टस्मा कुनै समस्या हुन नदिनेगरी काम गरिरहेका छौं । छिट्टै १०० स्थानमा चार्जिङ नेटवर्क तयार पार्ने योजनासहित काम अगाडि बढाएका छौं’, एपीजी अटोमोवाइलका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।
कम्पनीले ८०० युनिट बिक्री पुरा गरेको उपलक्ष्यमा ब्राण्ड एम्बेस्डर दीपेन्द्र सिंह ऐरीको उपस्थितिमा केक काटेर सेलिब्रेसन गरिएको थियो । कम्पनीले एक वर्षको अवधिमा ६०० युनिट माथि ओमोडा ई-५ बिक्री गरेको छ । साथै, २०० युनिट हाराहारी जे-६ बिक्री गरेको कम्पनीको भनाइ छ ।


