लीपमोटर र दीपलका ईभीमा कडा प्रतिस्पर्धा, नयाँ आउने मोडलमा पनि उस्तै

काठमाडौं । नेपाली बजारमा दीपल र लीपमोटरका उत्पादन बीच कडा प्रतिस्पर्धा चलिरहेको छ । यी दुवै ब्राण्डसँग एउटै सेग्मेन्टमा उपलब्ध एसयूभी भएको कारण प्रतिस्पर्धा थप बढेको हो ।

दीपल ब्राण्डले एस-०७ एसयूभी ल्याएर नेपाली बजारलाई ततायो । ३० देखि ६० लाख मूल्यका ईभीको बढ्दो बजारमा ७० लाख रुपैयाँभन्दा माथि मूल्य राखेर दीपल एस-०७ बिक्री भएको थियो । आफ्नो फ्युचस्टिक डिजाइन, स्मार्ट लुक्स, भरिभराउ टेक फिचर र लग्जरीको कारण एस-०७ ले बजारमा राम्रो बिक्री पाएको थियो ।

दीपलका उत्पादन बिक्री सुरू भएको केही महिनापछि लीपमोटर पनि आधिकारिक रूपमा नेपाल प्रवेश गर्यो । नाडा अटो शो २०२४ मार्फत लीपमोटरको सी-१० एसयूभी नेपाली बजारमा आयो । सी-१० ठूलो साइजको इलेक्ट्रीक एसयूभी थियो । यसको पनि सिधा प्रतिस्पर्धा दीपल एस-०७ सँग भयो ।

मोटर पावरको हिसाबले एस-०७ भन्दा अगाडि रहेको लीपमोटरको सी-१० एसयूभी ग्राउण्ड क्लियरेन्स लगायतका कुरामा पनि अब्बल थियो । दीपल एस-०७ मा ९९ किलोवाटको मोटर दिएर एमएडब्लू वृद्धिले ल्याउँदा साँग्रिला मोटर्सले सी-१० एसयूभीलाई १६० किलोवाटको मोटरमा ल्यायो ।

दीपलले एस-०७ को ग्राउण्ड क्लियरेन्स १७५ एमएम दाबी गर्दा लीपमोटर सी-१० को ग्राउण्ड क्लियरेन्स १९० एमएम दाबी गर्यो । यसले लगभग समान मूल्यमा आएका, समान साइजका दुई एसयूभी बीच राम्रै प्रतिस्पर्धा देखियो । अझ भनौं सी-१० नेपाल प्रवेशसँगै बजार बाँडियो ।

यी दुवै ब्राण्डले यस वर्ष सार्वजनिक गरेका आ-आफ्ना मोडल थप प्रतिस्पर्धी देखिए । लीपमोटरले बी-१० एसयूभी नाइमा नेपाल मोबिलिटी शो र दीपलले एस-०५ एसयूभी नाडा अटो शोमा सार्वजनिक गर्यो । नाइमा सुरूमा आकर्षक मूल्यमा आएको मानिएको बी-१० एसयूभीलाई पछाडि धकेल्दै नाडा अटो शोमा सार्वजनिक एस-०५ को मूल्य कम राखियो ।

मूल्यसँगै यी दुई एसयूभीको बीच थुप्रै कुरामा प्रतिस्पर्धा भयो । कम मूल्य र मिनिमल क्याबिनका कारण सुरूवाती बिक्रीमा एस-०५ अगाडि देखियो । दीपल एस-०५ थाइल्याण्डबाट आयात भएको कारण चाडपर्वमा सजिलै उपलब्ध भयो । चीनबाट आयात हुने बी-१० को आयात नहुँदा सडकमा धेरै एस-०५ देखिन थालेको छ ।

नयाँमा पनि कडै प्रतिस्पर्धा हुने

ईभीको प्रतिस्पर्धा लीपमोटर र दीपल बीच अझै जारी रहने देखिन्छ । यी दुवै ब्राण्डले आउने वर्षको अटो शोमा पनि एक/एक मोडल कम्तीमा ल्याउने छन् । यी दुई कम्पनीले ल्याउने गाडीको नाम पनि फाइनल भइसकेको छ ।

लीपमोटरले ए-१० एसयूभी ल्याउँदै छ भने दीपलले एस-०३ एसयूभी ल्याउने छ । यी दुवै मोडल एक अर्काका कडा प्रतिस्पर्धी हुने पक्का छ ।

लम्बाइको आधारमा दीपल एस-०३ केही ठूलो हुनेछ । तर, उचाइमा ए-१० अगाडि देखिन्छ । अहिलेसम्म ए-१०को ब्याट्री साइज बाहिर आएको छैन । तर, मूल्य, ब्याट्री, डिजाइन, फिचर र अन्य टेक्नोलोजीको हकमा भने कडा प्रतिस्पर्धा हुनेछ ।

सर्भिस र अन्य सेवामा के छ ?

एमएडब्लू ग्रुप अन्तर्गतको कम्पनीहरूले धेरै ब्राण्डका ईभी बिक्री गर्ने र फोटोन ब्राण्डको माइक्रोबस पनि इलेक्ट्रीकमा बिक्री गर्दै आएकोले स्वभाविक रूपमा धेरै चार्जिङ स्टेशन एमएडब्लूको छ ।

साँग्रिला मोटर्सले बिक्री गर्ने लीपमोटरले पनि ओमोडा/जेको र जिकर जस्ता ब्राण्ड बिक्री गर्दै आएको सारडा ग्रुपसँग सहकार्य गरेर चार्जिङ स्टेशनहरू बनाइरहेको छ ।

बिक्री केन्द्र र सर्भिसमा दुवै ब्राण्डको लगानी पर्याप्त छैन । दुवै ब्राण्डले नयाँ सर्भिस सेन्टरहरू निर्माण प्रक्रियालाई अगाडि बढाएका छन् । लगभग उस्तै प्रोडक्ट लाइनअप रहेको कारण भोलिका दिनमा पनि यी दुई ब्राण्डको बीचमा थप कडा प्रतिस्पर्धा देख्न पाइनेछ ।


Back_to_top