नेपाल बजारमा ग्लोरी-५८० सार्वजनिक, सुरुवाति मूल्य ६२ लाख ८० हजार

काठमाडौं । नेपाली बजारमा डोङ्फेङ् सकोन (डीएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी सार्वजनिक भएको छ । कुजु नेपालले ल्याएको उक्त एसयूभीका सुरुवाति मूल्य ६२ लाख ८० हजार रुपैयाँ तोकिएको छ टप भेरियन्टको मूल्य ६९ लाख ९९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीले ग्लोरी ५८० को अटोमेटीक भेरियन्टलाई सार्वजनिक गरेको छ भने केही दिनमै म्यानुयल भेरियन्ट ल्याउने जनाएको छ । 

डीएफएसकेको ग्लोरी–५८० मोडल कम्प्याक एसयूभी जुन सेभेन–सिटर अप्सनमा उपलब्ध रहेको छ । 

यसमा १.५ लिटरको टर्बोचार्ज्ड इन्जिनमा उपलब्ध रहेको छ । नेपाली बजारमा आउने यी एसयूभीहरु इन्डोनेशियाली प्लान्टबाट उत्पादन भएको कम्पनलिे जानकारी दिएको छ । 

यसको लम्बाई ४६८०, चौडाई १८४५ तथा उचाई १७१५ एमएमको रहेको छ । यसको इन्जिनले १४८ बीएचपी तथा २२० एनएम–टर्क उत्पादन गर्छ । 

यसमा १७ इन्चको अलोय ह्वील रहेको छ भने यसको ग्राउण्ड क्लियरेन्स–२०० एमएम रहेको छ ।

अगाडि बम्परमा तीनवटा लाइनमा रहेको क्रोम फिनिसिङ्गले यसलाई स्पोर्टी देखाएको छ । यसमा प्रोजेक्टरसहितको एलईडी डेटाइम रनिङ्ग–लाइट रहेको छ, जसलाई लायन आई–सेपमा डिजाइन गरिएको छ ।

बडी–कलर बम्परलाई अगाडिको साइडबाट तानेर कर्भी बनाएको छ । साइडमा देखिने कर्भी डिजाइनले यसलाई अझ आकर्षक बनाएको छ । यसको रियरमा ब्ल्याक–कलरको बम्पर रहेको छ भने रियर विन्डोमा डिफोस्टर तथा वाइपर रहेको छ । रियर विन्डोको माथि रहेको स्पोइलर तथा सार्क्फिन एन्टेनाले यसको ब्याक–प्रोफाइल पनि उत्कुष्ट देखाएको छ । रियरमा ड्यूलटोन सिसेपको ब्याक–लाइट रहेको छ ।

ग्लोरी–५८० को इन्टेरियर आकर्षक रहेको छ । ड्यूल–टोन ड्यासबोर्ड तथा १० इन्चको स्क्रिनसहितको इन्फोटेन्मेन्ट सिस्टमले क्याविनलाई लग्जरियस फिल गराउँछ । थ्री–स्पोक स्टेरिङ्ग ह्वीलमा अडियो, फोन तथा क्रूज कन्ट्रोलको माउन्टेड सुइज रहेको छ ।

क्याविनमा रहेको पानारोमिक सन्–रुफले यो एसयूभीलाई अझ आकर्षक बनाएको छ । चालकको आरामका लागि सिक्स–वे एड्जस्टेवल ड्राइभर–सिट रहेको छ भने अगाडि प्यासेन्जरको सिट फोर–वेमा एड्जस्ट गर्न सकिन्छ । 

यसमा इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, टुइन–साइड तथा कर्टन एयरव्याग, रिभर्स पार्किङ्ग सेन्सर तथा क्यामरा रहेको छ । यो एसयूभीले एन–क्यापको क्रयास टेस्टिङ्गमा फाइभ–स्टार रेटिङ्ग पाएको छ । ग्लोरी ५८० यूरो–६ स्टायडर्डको गाडी हो ।

सर्भिस सेन्टर र वारेन्टि

विश्वका ७० भन्दा बढी देशमा बिक्री हुँदै आएको यस ब्रान्डको प्रिमियम एसयूभीको इन्जिनमा ७ वर्ष वा १,५०,००० किलोमिटरको वारेन्टी प्रदान गरिएको छ ।

गाडी बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै कम्पनीले ललितपुरको जुवागलमा सर्भिस सेन्टर पनि संचालनमा ल्याएको जनाएको छ ।   


Back_to_top