काठमाडौं । यातायात व्यवसायी महासंघले मिटर जडित ट्याक्सीको भाडा समायोजन गर्न माग गर्दै यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाएको छ । महासंघका महासचिव सरोज सिटौलाको नेतृत्वमा टरयाक्सी व्यवसायीको टोलीले विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
सबै वस्तुको मूल्य वृद्धि हुँदा समेत मिटर ट्याक्सीको भाडा नबढाएकाले महासंगले विभागलाई ज्ञापन पत्र बुझएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
‘२०६९ सालमा ट्याक्सीको भाडा समायोजन भएपछि अहिलेसम्म भाडा समायोजना हुन सकेको छैन,’ सिटौलाले भने, ‘त्यो बेलाको मूल्य र अहिलेको मूल्यमा कति ठूलो ेअन्तर आइ सक्यो । तर ट्याक्सीको भाडा बढाउन सरकारले किन आनाकानी गरि रहेको छ बुझ्न सकिएको छैन ।’
सरकारले २०६५ सालमा वैज्ञानिक भाडा दर निर्धारण मापदण्ड बनाएपनि त्यो आजसम्म पनि लागु नभएको व्यवसायीको गुनासो छ । उक्त मापदण्ड अनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत र अन्य व्याजदरलगायतको ६५ प्रतिशत हिसा रहने गरि भाडा समायोजन हुने भनिएको थियो ।
ट्याक्सी व्यवसायीले केही समयदेखि टरयाक्सीको पछाडी आफ्ना मागहरु टाँसेर भाडा समायोजन नभएकोमा विरोध जनाउँदै आएका छन् ।
ट्याक्सीमा भएको बिकृती हटाउन व्यवसायीहरु तत्पर रहेका छौं । तर सरकारले त्यही अनुरुप समयानुकुल भाडा समायोजन नगर्दा व्यवसायी मर्कामा परेको सिटौलाको भनाइ छ ।
‘ट्याक्सी व्यवसायी समयानुकुल सुध्रिएर यात्रुको सेवा गर्न तयार छन्,’ उनले भने, ‘त्यसैले सरकार अभिभावक भएकाले सेवा दिन व्यसायीलाई लागत उठ्ने गरि भाडा समायोजन त गर्नु पर्यो नि ।’ सरकारले व्यवसायीहरुको उचित माग समयमै सम्बोधन गर्नेमा आफूहरु आशावादी रहेको उनको भनाइ छ ।


