काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
निगमले आइतबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
डिजेलको मूल्य बढेसँगै पहिलो वर्गका लागि प्रतिलिटर १३६.५० रुपैयाँ, दोस्रो वर्गमा १३८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २६ अमेरिकी डलरसम्म घटाएको छ ।
निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

