काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका २ लाख बढी सवारी साधनको फाइल (ढड्डा) डिजिटालाइजेशन (कागजातको विद्युतीय अभिलेख राख्ने काम) भएको छ ।
प्रदेश सरकार मातहतका चार वटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारीमध्ये हालसम्म २ लाख २ हजार ५०० को कागजात डिजिटाइज गरिएको हो ।
प्रदेश सरकारले आफ्ना प्रदेश भित्र दर्ता भएका सवारीलाई डिजिटाइज गर्ने उद्देश्यले २०८१ फागुन ५ गतेदेखि यातायात व्यवस्था कार्यालयहरू गुर्जुधारा (मोटरसाइकल), एकान्तकुना (सानाठूला सवारी), हेटौंडा र चितवनबाट ढड्डालाई डिजिटल फर्म्याटमा उतार्ने काम सुरू गरेको थियो ।
ती चार कार्यालयमा करिब सवा २२ लाख सवारी साधन दर्ता छन् । तीमध्ये हालसम्म २ लाख बढीको ढड्डा कम्प्युटर प्रणालीमा उतारिएको हो ।
सवारी डिजिटालाइजेशन अन्तर्गत यातायात कार्यालयहरूमा रहेको सवारी साधनको विवरण, दर्ता, कर तथा नवीकरण लगायत सम्पूर्ण कागजातलाई स्क्यान गरी अनलाइन प्रणालीमा प्रविष्ट गरिन्छ । त्यसपछि सवारीको सम्पूर्ण विवरण अनलाइनबाटै हेर्न सकिन्छ । ढड्डा पल्टाउनुपर्ने झण्झट हट्ने छ । साथै, सवारी कर तिर्ने, नवीकरण, नामसारी पनि अनलाइनबाटै गर्न सकिने छ ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा हाल १६ लाख बढी दुईपाँग्रे सवारी दर्ता भएका छन् । तीमध्ये ९८ हजार ८९८ सवारीको ढड्डा डिजिटाइज गरिसकिएको कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीले जानकारी दिए । त्यस्तै, थप ९ हजार ५०० बढी फाइल स्क्यान गरी प्रणालीमा इन्ट्री गर्ने क्रममा रहेको उनले बताए ।
‘गत वर्ष फागुनदेखि ढड्डा डिजिटालाइजेसनको काम सुरू गरिएको थियो । १० महिनामा करिब ९९ हजारको काम सकियो । थप साढे ९ हजार स्क्यान गरी अनलाइन प्रणालीमा इन्ट्री गर्ने क्रममा छ,’ उनले मेरोअटोसँग भने ।
उनका अनुसार हालसम्म कार्यालयमा दर्ता भएका लट नम्बर १०१ देखि ११७ सम्मका मोटरसाइकल तथा स्कुटरको फाइल डिजिटाइज गरिसकिएको छ । साथै, अन्य लटका सवारी धनीले लगेको फाइल पनि अनलाइन सिस्टमा उतारिएको उनले बताए ।
कर्मचारी घट्दै जाँदा डिजिटाइजको कामले तीव्रता पाउन नसकेको उनले बताए । सुरूमा ५० जना कर्मचारी खटाइएको हाल ३१ जनामा सीमित भएको उनले जानकारी दिए । थप कर्मचारी व्यवस्था गरिदिन प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई अनुरोध गरिएको उनले बताए ।

‘सुरूमा डढ्डा स्क्यानका लागि ५० कर्मचारी उपलब्ध गराइएको थियो । तीमध्ये १९ जना लोकसेवा लगायतमा नाम निकालेर गएका छन् । अहिले ३१ जनाले डाटा इन्ट्री गरिरहेका छन्,’ उनले भने, ‘थप कर्मचारी व्यवस्था गरिदिन मन्त्रालयलाई अनुरोध गरेका छौं ।’
उनका अनुसार एकजनाले दैनिक ३० देखि ६० वटासम्म फाइल स्कान गरी अपलोड गर्न सक्छन् । सो अनुसार दैनिक ९०० देखि १ हजार वटासम्म फाइल डिजिटाइज भइरहेको छ । २ वर्षभित्र सबै फाइल डिजिटाइज गर्ने लक्ष्य राखिए पनि नसकिने देखिएको उनको भनाइ छ ।
त्यस्तै, यातायात व्यवस्था कार्यालय सानाठुला सवारी, एकान्तकुनामा हालसम्म ८० हजार फाइल डिजिटाइज गरिएको कार्यालयका सूचना अधिकारी अम्बिक घिमिरेले जानकारी दिए ।
उनका अनुसार एकान्तकुनामा करिब ४ लाख ८० हजार सवारी साधन दर्ता छन् । तीमध्ये हालसम्म ८० हजार फाइल अनलाइन प्रणालीमा इन्ट्री गरिएको उनले बताए । उनले कार्यालयमा दर्ता भएका २४ देखि ३३ लटसम्मको सवारीको फाइल स्क्यान सकेर हाल १७ लटदेखि सुरू गरिएको जानकारी दिए ।
‘एकान्तकुनामा करिब ४ लाख ८० हजार सवारी दर्ता छन् । तीमध्ये हालसम्म ८० हजारको स्क्यान सकिएको छ । दैनिक २० जनाले सवारीको ढड्डा डिजिटाइज गरिरहेका छन्,’ उनले मेरोअटोसँग भने । अझै करिब ४ लाख फाइल डिजिटाइज गर्न बाँकी रहेको उनले बताए ।
यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनमा करिब ३१ प्रतिशत सवारीको ढड्डा डिजिटालाइज भएको छ । कार्यालका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलका अनुसार भरतपुरमा ७० हजार बढी सवारी दर्ता भएकोमा साढे २१ हजार सवारीको फाइल स्क्यान गरी अपलोड गरिएको छ ।
उनका अनुसार मोटरसाइकलतर्फ बागमती प्रदेश ००६-०१ देखि ०२ लटसम्मको काम सकिएर हाल ०३ लटको सुरू गरिएको छ । ‘आन्दोलन अघि तीव्र गतिमा काम भइरहेको थियो । आन्दोलनमा कम्प्युटर लगायत सामग्री जलेर नष्ट भए । हाल स्क्यानको काम रोकिएको छ । मन्त्रालयसँग कम्प्युटर माग गरेका छौं । उपलब्ध भएपछि पुनः सुरू हुन्छ,’ उनले मेरोअटोसँग भने । सवारीको फाइल डिजिटाइज गर्ने ८ जना कर्मचारी रहेको उनले बताए ।
फाइल जल्दा हेटौंडामा रोकियो काम
यातायात व्यवस्था कार्यालय, हेटौंडामा दर्ता भएका ७.०८ प्रतिशत सवारी साधनको मात्रै फाइल स्क्यान पूरा भएको छ । कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेका अनुसार यस कार्यालयमा ७३ हजार ४२३ वटा सवारी दर्ता भएका छन् । तीमध्ये हालसम्म ५ हजार २०३ वटा डिजिटालाइज गरिएको उनले बताए ।
जेन-जी आन्दोलनमा कार्यालयमा रहेका सबै कागजात जलेकाले हाल फाइल स्क्यान गर्ने काम रोकिएको उनले बताए । अब सबै सवारीको नयाँ फाइल खडा गरेपछि मात्रै डिजिटालाइजको काम पुनः सुरू हुने उनले बताए ।

‘हेटौंडामा दर्ता भएका सवारीमध्ये ५२०३ वटाको कागजात डिजिटाइज गरिसकिएको छ । जेनजी आनदोलनमा सबै कागजात जलेकाले हाल स्क्यानको काम रोकिएको छ । अब नयाँ फाइल खडा गरिसकेपछि मात्रै सुरू हुन्छ । सबै सवारीको भन्सार प्रज्ञापनपत्र सहित आवश्यक कागजात जुटाएर फाइल खडा गर्नुपर्छ । केही महिना लाग्न सक्छ,’ उनले मेरोअटोसँग भने ।
तत्काल कर्मचारी थप्ने छैन योजना
सरकारले २ वर्ष भित्र प्रदेशमा दर्ता भएका सबै सवारीको फाइल स्क्यान गरिसक्ने लक्ष्य राखेको छ । तर, पर्याप्त कर्मचारी नहुँदा कामले गति लिन सकेको छैन । सुरूमा करारमा १०० जना कर्मचारी भर्ना गरिएकोमा हाल ६५ जना मात्रै कार्यरत रहेका छन् ।
कामलाई तीव्रता दिन थप जनशक्ति थप्नुपर्ने आवश्यकता भए पनि तत्काल दरबन्दी थप्ने कुनै योजना नरहेको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयककी प्रवक्ता सुनिता गजुरेलले बताइन् ।
उनले हालै भएको समीक्षा बैठकमा ढड्डा डिजिटालाइजेशनलाई थप प्रभावकारी बनाउने बारे अनौपचारिक छलफल भए पनि कुनै निर्णय नभएको बताइन् ।
‘ढड्डा डिजिटालाइजेशनलाई थप प्रभावकारी बनाउन जनशक्ति थप्नुपर्ने आवश्यकता छ । हालै भएको समीक्षा बैठकमा विभिन्न मोडालिटी बारे अनौपचारिक छलफल भएको थियो । तर, कुनै निर्णयमा पुगिएको छैन । अहिले मन्त्रालयमा सचिव समेत हुनुहुन्न । नयाँ सचिव नआउन्जेलसम्म कुनै निर्णय हुने अवस्था छैन,’ उनले मेरोअटोसँग भनिन् ।
मन्त्रालयले हाल चार कार्यालयमा दर्ता भएका सवारीको कागजात मात्र डिजिटाइज सुरू गरे पनि अन्य कार्यालयहरूमा कहिलेबाट सुरू हुन्छ भन्ने ठोस योजना बनाएको छैन । त्यसैले २ वर्षमा सक्ने लक्ष्य राखिएको काम वर्षौं पछि धकेलिने देखिन्छ ।
प्रदेशले सरकारले फाइल (डाटा) स्टोरेजका लागि सिंहदरबारस्थित एकीकृत डेटा व्यवस्थापन केन्द्रमा करिब ६५ टेराबाइट (टीबी) स्पेस लिएको छ । यो डेटाको ब्याकअप डेटा हेटौंडामा रहने छ ।
ढड्डामा रहेको सवारी सम्बन्धी सम्पूर्ण विवरणहरूलाई डिजिटल फम्र्याटमा उतारेपछि सेवाग्राहीहरूले सवारी कर तिर्न यातायात कार्यालय धाउनु पर्दैन । साथै, सवारी नवीकरण, नामसारी लगायत काम पनि अनलाइन प्रणालीबाटै गर्न मिल्छ ।

