काठमाडौं । सन् २०२५ भारतीय दुईपाँग्रे बजारका लागि स्वर्णीम वर्ष बनेको छ । गतवर्ष भारतमा उत्पादन भएका ३४ लाख मोटरसाइकल तथा स्कुटर अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको हो ।
उक्त संख्या सन् २०१९ को कोभिड महामारिको समय अघि भएको ३१ लाख युनिट निर्यात भन्दा ३ लाखले धेरै हो ।
दुई पाँग्रे मोटरसाइकलको जायन्ट भारतले अफ्रिकी र ल्याटीन अमेरिकी मुलकहरूमा आफ्नो निर्यात बढाउँदा उक्त नम्बर हासिल गरेको हो । विशेष गरी कोलम्बिया र ब्राजिलमा भारतीय मोटरसाइकलको माग उच्च छ ।
अफ्रिकी बजार नाइजेरिया र एसियाली बजारमा फिलिपिन्स, बंगालदेश, नेपाल जस्ता देश भारतीय मोटरसाइकल धेरै बिक्री हुन्छन् । भारतबाट मोटरसाइकल धेरै निर्यात गर्नेमा बजाज र टीभीएस सबैभन्दा अगाडि देखिएका छन् ।
सन् २०२५ मा भएको निर्यातको तीन चौथाइ बजाज अटो र टीभीएस मोटर कम्पनीको भागमा छ । बजाज अटोले कुल निर्यातको ४३ प्रतिशत र टीभीएस मोटर्सले २९ प्रतिशत हिस्सा ओगटेको हो । जसमा बजाजले १९ लाख युनिट निर्यात गर्दा टीभीएसले १३ लाख युनिट निर्यात गर्न सफल भएका छन् ।
विश्वमै सबैभन्दा धेरै मोटरसाइकल उत्पादन गर्ने कम्पनी हिरोका उत्पादन भने भारतमै धेरै बिक्री हुनेमा पर्छ । भारतीय तीन ठूला कम्पनीको सूचीको दोस्रो स्थानमा बजाज अटो छ भने तीन नम्बरमा टीभीएस मोटर्स पर्छ ।
विश्व बजारमै मोटरसाइकलको माग बढ्दै जाँदा भारतीय दुईपाँग्रेको दबदवा अझै बढ्ने देखिन्छ । सन् २०२५ मा नेपालमा १ लाख ९० हजार ३७४ युनिट मोटरसाइकल तथा स्कुटर भारतबाट आयात भएको देखिन्छ ।

