दैनिक ६ युनिटभन्दा बढि आइरहेको छ ‘एटो वान’, मासिक २५ हजारमै किन्न सकिने

काठमाडौं । बीवाइडीले आफ्नो सबैभन्दा सानो ह्याचव्याक कार एटो वानलाई नाइमा मोविलिटी एक्स्पोबाट बुकिङ लिन थालेको हो । सेप्टेम्बर महिनाबाट नेपाल ल्याउन थालेको एटो वान जनवरी १५ तारिखसम्म ८४० युनिट आयात भइसकेको छ ।

सेप्टेम्बरमा ३१६, अक्टोबरमा ११५, नोभेम्बरमा ९४, डिसेम्बरमा ३०० र जनवरी लागेसँगै १५ युनिट एटो वान नेपाल आइसकेको छ । समग्रमा १३५ दिनमा औषत दैनिक ६.२२ युनिटका दरले एटो वान नेपाल आएको देखिन्छ ।

बीवाइडी एटो वान युरोप र चीनमा पनि निकै चर्चा कमाउन सफल मोडल हो । आकर्षक मूल्य, आधुनिक फिचर र बीवाइडीको ब्राण्ड भ्यालूले यसलाई अन्य प्रतिस्पर्धीभन्दा अलग बनाएको छ । उसोत बजारमा एटो वानसँग प्रतिस्पर्धा गर्ने थुप्रै मोडल छन् । तथापि, उपभोक्ताको रोजाईमा एटो वान नै पर्दै आएको देखिन्छ ।

बीवाइडीले २८ लाख ९५ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको एटो वान डाइनामिक भेरियन्ट किन्दा मासिक २५ हजार ४०० रुपैयाँ हाराहारी किस्ता तिर्दा पुग्छ ।

अहिले बैंक तथा वित्तिय संस्थाले सजिलै ६ प्रतिशत हाराहारीमा कर्जा दिएको कारण मूल्यको ६० प्रतिशत रकम कर्जा लिएर किन्दा ७ वर्षसम्म मासिक २५ हजारभन्दा केही बढी तिर्दा पुग्ने अवस्था आएको हो ।

यसको टप भेरियन्ट एटोवान प्रिमियम किन्नेले भने ३२ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्छ । यी दुई भेरियन्टमा मुख्य फरक भनेकै ब्याट्री साइज हो ।

यस्तो छ एटो वान

एटो वानको दुई भेरियन्टमा ४ लाख ४ हजार रुपैयाँको अन्तर छ । एटो वानको डायनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवर र प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री छ । मोटर भने समान ४५ किलोवाटको पाउन सकिन्छ ।

एटो वानको डायनामीक र प्रिमियम भेरियन्टमा एयरव्यागको संख्यामा फरक छ । डायनामीकमा ४ वटा मात्रै एयरव्याग छ । प्रिमियम भेरियन्टमा ६ वटा एयरव्याग पाउन सकिन्छ ।

एटो वानको डायनामीकमा २ वटा फ्रन्ट एयरव्याग, साइड कर्टन एयरव्याग मात्रै छ । प्रिमियममा भने ड्राइभर र फ्रन्ट प्यासेन्जरलाई साइड एयरव्याग पनि छ ।


Back_to_top