एनटर्क र डिओ-१२५ मा कुन किन्ने ? यी हुन् ३ मुख्य फरक

काठमाडौं । होन्डाले नेपाली बजारमा आफ्नो १२५ सीसी क्षमताको डिओ स्कुटर बुकिङ खुल्ला गरेको छ । कम्पनीले आफ्नो सफल मोडल डिओलाई १२५ सीसी क्षमताको इन्जिनमा ल्याउन लागेको हो ।

नेपालमा होन्डा डिओ-१२५ सार्बजनिक भएसँगै यसको सिधा प्रतिस्पर्धा भने टीभीएस एनटर्क १२५ सँग हुने अनुमान सहजै लगाउन सकिन्छ ।

उसोत, प्रिमियम स्कुटर सेग्मेन्टमा एकक्षत्र राज गरिरहेको टीभीएस एनटर्क आफ्नो डिजाइन र पर्फमेन्सको कारण धेरैको रोजाईमा पर्न सफल मोडल हो ।

बजारकै सफल यी दुई स्कुटर इन्जिन क्षमता पनि समान र फिचरको हिसावले पनि समान देखिएपछि ग्राहकलाई कुन किन्ने भन्ने अन्योलता हुन सक्छ । त्यसैले यी दुई स्कुटरमा रहेका केही भिन्नता हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

पावर

पावरको हिसाबमा टीभीएस एनटर्क अगाडि छ । यसमा १२४.८ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर स्ट्रोक, थ्री भल्ब, एयरकूल्ड, आरटीएफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम ९.४ ब्रेकहर्स पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा किक र इलेक्ट्रीक दुबै स्टार्ट सिस्टम छ ।

होन्डा डिओमा १२३.९ सीसीको सिंगल सिलिन्डर, एयरकूल्ड, एफआई इन्जिन छ । यस इन्जिनले अधिकतम ८.१४ ब्रेकहर्स पावर र १०.३ एनएमको टर्क उत्पादन गर्छ । यस स्कुटरमा भने इलेक्ट्रीक स्टार्ट सिस्टम मात्रै पाउन सकिन्छ ।

मुख्य फिचर

विभिन्न स्मार्ट फिचरले भरिपुर्ण रहेको होन्डा डिओमा स्मार्ट फाइन्डिङ, साइलेन्ट स्टार्ट, स्मार्ट लकिङ र आइडल स्टप सिस्टम छ । यसमा रहेको इन्टेलिजेन्ट मिटरमा रियल टाइम, र एभरेज माइलेज मापन गर्न सकिने छ ।

इन्जिन कटअफ स्विच, डिजिटल स्पीडोमिटर डिस्प्ले, ट्रिप मिटर, टाइम, साइड स्ट्यान्ड इन्डिकेटर जस्ता अत्याधुनिक फिचर डिओमा छन् । साथै, मोर्डन टेल ल्याम्प, एलइडी हेडलाइट, पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस अलर्ट, नयाँ स्प्लिट ग्रयावरेलले यसलाई आकर्षक बनाएको छ ।

डिओ १२५ मा डिस्क ब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक डिजाइन, ड्यूल आउटलुक मफलरसँगै फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा हाइड्रोलिक स्प्रीङ सस्पेन्सन जस्ता फिचरहरु छन् ।

त्यसैगरी, टीभीएस एनटर्कमा गेमिङ्ग कन्सोल इन्स्पायर्ड इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट सिस्टम, नेभिगेसन असिस्ट, हाजार्ड लाइट, यूएसबी चार्जिङ पोर्ट, बुट लाइट, अलोय ह्वील, अगाडि टेलिस्कोपिक फर्क र पछाडि कोयल स्प्रीङ सस्पेन्सन दिइएको छ ।

कम्पनीले यसलाई डिस्क ब्रेक, स्पोर्ट स्प्लीट ग्रयावरेल, एक्सटर्नल फ्युल फिल्टर र स्पार्ट स्टुवी मफलर जस्ता फिचर दिएको छ ।

स्पोर्टी एयरक्राफ्ट इन्सपायर्ड डिजाइनमा रहेको एन्टर्कमा आरटीएफआई ब्याजिङ थ्रीडी लोगो एलइडी हेड्ल्याम्प, टी सेपमा सिग्नेचर एलइडी टेलल्याम्प पाउन सकिन्छ ।

मूल्य

एनटर्क आरटीएफआई १२५ स्कुटरको मूल्य नेपाली बजारमा ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ । आरटीएफआई १२५ सँगै टीभीएसले एनटर्कको अन्य पाँच मोडल नेपालमा बिक्री वितरण गरिरहेको छ ।

नयाँ स्मार्ट डिओ १२५ को २ लाख ९९ हजार ९०० मूल्य निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । यो मूल्य सुरुवाती १०० ग्राहकलाई मात्रै भएको कम्पनीले जनाएको छ ।


Back_to_top