डल्फिनको चमक माथि भारी पर्दै नामी

काठमाडौं । बजेट कारको रुपमा नेपाल प्रबेश गरेको बीवाइडी डल्फिन साँचै फिचर लोडेड कार हो । बाहिरबाट हेर्दा ठिकठाक लाग्ने डल्फिनमा भित्र बसेपछि जोकोहीलाई लोभ्याउँछ । अझ ड्राइभिङ सिटमै बसेर चलाउने हो भने बीवाइडीकै एटो–थ्रीभन्दा राम्रो लाग्छ ।

सन् २०२३ सेप्टेम्बरमा पहिलो पटक बिक्री सुरु भएको बीवाइडी डल्फिनलाई डोङफेङ नामीले कडा टक्कर दिँदै पछाडि धकेलिदिएको छ । सन् २०२४ सेप्टेम्बर मै नेपाल आएको नामीले पहिलो वर्षमै स्थापित डल्फिनभन्दा धेरै कार आयात गरेर सफलताको झण्डा गाडेको हो ।

करिब १० महिना अघि मात्र लन्च भएको डोङफेङ नामी १ हजार युनिटभन्दा बढि संख्यामा नेपाल आइसकेको छ । कम्पनीले ई१, ई२ र ई३ गरी विभिन्न तीन भेरियन्टमा नामी बक्स बिक्री गर्दै आएको छ ।

एमएडब्लू वृद्धिले नेपाल ल्याएको नामी बक्स ह्याचब्याकको अधिकतम खुद्रा बिक्री मूल्य ३० लाख २४ हजारदेखि ३६ लाख ४९ हजारसम्म तोकिएको छ । कम्पनीले यसलाई ७० किलोवाट र ४९ किलोवाट गरी दुई मोटर अप्सन उपलब्ध गराएको छ ।

नामी ह्याचव्याकमा ३१.४ र ४२.३ किलोवाट अवारको दुई ब्याट्री अप्सन पनि पाउन सकिन्छ ।

साइमेक्स इंकले बिक्री गर्दै आएको बीवाइडी डल्फिन ७० किलोवाटको मोटर र ४४.९ किलोवाटको ब्याट्रीसहित उपलब्ध छ । डल्फिनको खुद्रा बिक्री मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

आयातको अवस्था

बीवाइडी डल्फीन अहिलेसम्म नेपाली बजारमा २ हजार ४९१ युनिट आयात भएको देखिन्छ । झण्डै २० महिनाको अवधिमा भएको आयातका आधारमा डल्फिन निकै सफल ह्याचव्याक हो भन्न हिचकिचाउनु पर्दैन ।

डल्फिनको चमकमा नामी बक्सले कठिनता भने थपेको छ । नामीको बाहिरी डिजाइन नै धेरैले मनपराएका छन् । त्यसैले १० महिनाभन्दा कम समयमा १ हजार १८ युनिट नामी बक्स ह्याचव्याक आइसकेको छ ।

सन् २०२५ को सुरुवाती ५ महिनाको तथ्यांक हेर्दा डल्फिनलाई उछिन्दै नामी अगाडि बढेको छ । नामी बक्स जनवरीदेखि मे अन्तिमसम्ममा ६६४ युनिट आउँदा डल्फिन ५८५ युनिट आयात भएको देखिन्छ ।

साइज

नामी बक्सको लम्बाइ ४०३० एमएम, चौडाइ १८१० एमएम र उचाइ १५७० एमएम छ । यसमा २६६० एमएम लामो ह्वीलवेस छ । सानो ह्याचव्याकमा दिइएको १७ इन्चको आल्मुनियम अलोय ह्वील र १७६ एमएम ग्राउण्ड क्लियरेन्सले धेरैको ध्यान खिच्छ ।

बीवाइडी डल्फिनको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम छ । लम्बाइमा लामो भएपनि चौडाईमा नामीभन्दा ४० एमएम कम छ । ह्वीलवेस भने २७०० एमएम छ । जुन नामीभन्दा ४० एमएम नै बढी हो । यसमा १६ इन्चको अलोय ह्वील र १७५ एमएम ग्राउण्ड क्लियरेन्स छ ।

अन्य फिचर

बीवाइडी डल्फिनमा ५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको रोटरी सेन्टर स्कृन, ६ वटा एयरव्याग, ६ वटा स्पिकर, एन्ड्रोइड अटो, एप्पल कार प्ले र अटोमेटिक एसी दिइएको छ ।

हाइबीम असिस्ट, हिडहोल्ड, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर, भीटुएल सुविधा, एनएफसी किलेस कार्ड, एबीएस, इबीडी, इएससी सहितको एडास सेफ्टी फिचर पनि पाउन सकिन्छ ।

नामी १ मा सुरक्षाको लागि दिइएको दुई फ्रन्ट एयरव्याग, एबीएस, इबीडी, इएससी, ब्रेक असिस्ट हिल असिस्ट सहित एडास फिचर रहेको छ । यसको क्याविनमा पनि ५ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्कृन र अटोमेटिक एसी दिइएको छ ।

डोङफेङले यसमा ३६० डिग्री प्यानारोमिक क्यामरा, वायरलेस फोन चार्जर, हिटेड भेन्टीलेटेड तथा मेमोरी फङ्सन सहितको ड्राइभर सिट, अटोमेटिक एसी, मल्टी ड्राइभ मोड जस्ता फिचर दिएको छ । यो ईभीमा सेग्मेन्टमै पहिलो फ्रेमलेस डोर, फ्लस डोर ह्याण्डल तथा अटोमेटीक पार्किङ सुविधा उपलब्ध छ ।

पर्फमेन्स

डल्फिन र नामी बक्स दुबैमा ७० किलोवाटको मोटर छ । टर्कमा भने डल्फिन अगाडि देखिन्छ । डल्फिनको मोटरले १८० न्यूटन मिटर टर्क दिन्छ भने नामीको मोटरले १६० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

डल्फिन ईभीले १२.३ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्छ । सिंगल चार्जमा ३४० किलोमिटरसम्म चलाउन सकिने डल्फिनले ६० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ ।

डोङफेङ नामी बक्समा दिइएको ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्रीले ३१७ किलोमिटरसम्म रेन्ज दिन्छ । यसले ८८ किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छ ।


Back_to_top