डोङफेङको डीएफएसी भ्यानमा ५ लाख किलोमिटर वारेन्टी

काठमाडौं । पछिल्लो समय नयाँ नयाँ इलेक्ट्रीक ब्राण्डका लाइट कमर्शियल भ्यानहरू आइरहेका छन् । नयाँ ब्राण्डको प्रवेशसँगै वारेन्टी अवधिमा पनि प्रतिस्पर्धा चलिरहेको छ ।

कम्पनीहरूले आफ्नो भ्यानको बजार हिस्सा बढाउन र ग्राहकलाई थप सेवा सुविधा दिनको लागि गाडीको फिचर र सर्भिस प्याकेज बढाउँदै गएका छन् ।

अटोमोबाइल क्षेत्रको कान्छो कम्पनी त्रिवेणी मोटोकर्पले आफ्नो इलेक्ट्रीक भ्यान डोङफेङ डीएफएसीमा ५ वर्ष वा ५ लाख किलोमिटरसम्मको वारेन्टी दिने भएको छ ।

डीएफएसीको ११ सिटे लोरुफ र १४ सिटे हाईरुफ इलेक्ट्रीक भ्यानमा ५ लाख किलोमिटरसम्मको वारेन्टी  सुविधा दिइएको हो । यो वारेन्टी भ्यानको हाइभोल्टेज ब्याट्रीमा रहेको छ ।

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रीक भेहिकलको ब्याट्री उत्पादक कम्पनी सीएटीएलको ब्याट्री प्रयोग भएका यी भ्यानहरू अब ढुक्कले ५ लाख किलोमिटरसम्म चलाउन सकिने कम्पनीले मेरोअटोलाई बतायो ।

डीएफएसीको ११ सिटे भ्यान ईभी-३० मोडलमा ४१.८ किलोवाट अवारको ब्याट्री प्याक छ । यसको १४ सिटे भ्यान ईभी-३२ मा ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ ।


Back_to_top