काठमाडौं । सार्वजनिक सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गर्न कार्यविधिको मस्यौदा तयार भएको छ । यातायात व्यवस्था विभागले जीपीएस जडान सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको हो ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिं राईले सार्वजनिक सवारी साधनमा जीपीएस जडान गर्नका लागि आवश्यक कार्यविधिको मस्यौदा तयार पारिएको जानकारी दिए । उनले अब सरोकारवाला पक्षसँग छलफल गरी मस्यौदालाई अन्तिम रूप दिइने बताए ।
‘सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने लक्ष्य राखिए पनि आवश्यक कानुन थिएन । त्यसका लागि विभागले अहिले कार्यविधिको मस्यौदा तयार पारेको छौं,’ उनले मेरोअटोसँग भने, ‘अब उक्त कार्यविधिमा भएका व्यवस्था बारे सरोकारवालासँग छलफल गरी राय समेटेर अन्तिम रूप दिन्छौं । र, चाँडै पारित गरी कार्यान्वयनमा ल्याउँछौं ।’
कार्यविधिमा सार्वजनिक सवारीमा जीपीएस जडान प्रक्रिया, मोडल, सवारीको ट्रयाकिङ, मनिटरिङ लगायत व्यवस्था गरिएको छ ।
जीपीएस जडानपछि सार्वजनिक सवारीलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न, दुर्घटनापछि खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र सवारीको अवस्था थाहा पाउन सहयोग पुग्ने उनको भनाइ छ ।
विभागले जीपीएस जडानसँगै सार्वजनिक साधनलाई डिजिटललाइज गर्ने, डिजिटल भुक्तानी, डिजिटल टिकट, यातायात सुरक्षा लगायत विषयमा पनि काम गरिरहेको सूचना अधिकारी राईले जानकारी दिए ।
विभागले २ वर्षअघि परीक्षणका रूपमा काठमाडौं-पोखरा र काठमाडौं-वीरगन्ज रुटमा चल्ने केही सवारी साधनमा जीपीएस जडान गरेको थियो । अब भने कार्यविधि बनाएर देशभर संचालन हुने सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने तयारी गरेको हो । हाल निजी क्षेत्रका केही यातायात समितिले आफ्ना बसहरूमा जीपीएस जडान गरेका छन् ।
सवारी साधनमा जीपीएस जडानपछि सवारी साधनलाई ट्रयाकिङ गर्न, सवारीको गति थाहा पाउनुका साथै सार्वजनिक यातायातका विकृति, लुटपाट, चोरी लगायतका आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको विश्वास छ ।
यसअघि गृह मन्त्रालयले गठन गरेको सिमलताल घटना अध्ययन प्रतिवेदनले पनि सार्वजनिक सवारीमा जीपीएस जडान गर्न सुझाव दिएको थियो । त्यस्तै, सरकारले प्रस्ताव गरेको ‘राष्ट्रिय यातायात नीति,२०८१’ मा पनि सार्वजनिक सवारीमा जीपीएस प्रणाली लागू गरिने उल्लेख छ ।
के हो जीपीएस सिस्टम ?
ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ट्रयाकिङ लंगिच्युड/ल्याटिच्युडलाई सफ्टवेयरबाट कैद गरी वास्तविक अवस्था हेर्ने र तथ्यांक लिने प्रविधि हो । जीपीएसले पृथ्वीमा रहेको बिन्दुको देखाउँछ । यसैलाई ट्रयाकिङ गरेर वास्तविकता पत्ता लगाउन सकिन्छ ।
ट्रयाकिङ मार्फत ठाउँ, व्यक्ति र विभिन्न गतिविधिको निगरानी गर्न सकिन्छ । कुन सवारी सधन कुन ठाउँमा, कस्तो अवस्थामा छ, कति गतिमा कुदिरहेको छ सबै थाहा पाउन सकिन्छ ।
त्यस्तै, यात्रुले आफू जाने स्थान र रुट अनुसार टिकट बुक गर्नसक्ने, गाडीको अवस्था बारे अनलाइनबाटै हेर्न सक्छन् । साथै, सवारी साधनमा हुने चोरी, लुटपाट, दुव्र्यवहार जस्ता अपराधिक गतिविधिको पनि निगरानी गर्न सहयोग पुर्याउँछ ।