एक वर्षमै धारासायी भएका ३ इलेक्ट्रीक कार ब्राण्ड

काठमाडौं । चीन विश्वमै सबैभन्दा धेरै अटोमोबाइल स्टार्टअप ब्राण्ड भएको देश हो । सन् २०१० देखि २०२३ सम्म निरन्तर चीनमा स्टार्टअप इलेक्ट्रीक ब्राण्ड जन्मिए ।

इलेक्ट्रीक भेहिकल टेक्नोलोजीमा नयाँ आएका स्टार्टअपहरु बलियो देखिएपनि बजार टिक्न सक्ने अवस्था भने सबैको छैन । पछिल्लो एक वर्षको अवधिमा चिनियाँ स्टार्टअप ब्राण्डहरु किन्ने, बेच्ने, गाभ्ने र गाभिने श्रृखला सुरु भएको छ ।

केही अघिसम्म राम्रै सफलता र चर्चा पाएका ब्राण्डहरु हाई फि, एयरवेज र एभरग्राण्डे जस्ता कार निर्माता ब्राण्ड बैकरप्सी फाइल गरेर बन्द भएका छन् ।

सन् २०२४ मा भएको बेइजिङ अटो शोमा निकै तामझाम साथ आफ्ना उत्पादन प्रदर्शनी गरेका केही ब्राण्ड यस वर्षको सांघाई अटो शोमा देखिएनन् । बरु उल्टै बेइजिङ अटो शोपछि उनिहरुको आर्थिक अवस्था कमजोर बनेको समाचारहरु बाहिर आए । यी कम्पनीहरु एकै वर्षमा के कारणले समस्यामा परे यहाँ त्यसको कारण खोजिएको छ ।

जीयू

चीनको ठूलो अटोमोवाइल ग्रुप जिली र चीनको गुगल भनेर चिनिने बाइडुसँगको सहकार्यमा स्थापना भएको ‘जी यू’ ब्राण्डको ईभी कम्पनी बन्द भएको छ । यो कम्पनीमा जिलीले कारको वेस सप्लाई गरको थियो । त्यो बाहेक सबै बाइडुले हेरेको थियो ।

गत वर्ष देखाएको जीयू ०१ मोडलमा टेस्लाको भन्दा राम्रो लेबल ३ एडास सिस्टम रहेको थियो । यो कम्पनीले जिलीको एसईए प्लेटफर्म नै प्रयोग गरे र अब्बल टेक्नोलोजी प्रयोग गर्दा पनि टिक्न सकेन ।

आफ्नो ठूलो ड्रिम प्रोजेक्ट लन्च गरेको जीयू–०१ ह्याचव्याक केही हजार युनिट बिक्री पछि थलापर्यो । त्यस्तै कम्पनीले लन्च गरेको स्लीक ०७ सेडानले पनि बिक्री बढाउन सकेन ।

गत डिसेम्बरमा कामदारहरुले पैसा नपाएको भन्दै कानुनी उपचार खोजे, दक्ष इन्जिनियरहरु नयाँ काम खोज्न कुदेका थिए । जीयूले आधिकारीक रुपमा बन्द भएको घोषणा अहिलेसम्म नगरेपनि यसका चीनमा खुलेका स्टोरहरु बन्द भइसकेका छन् ।

युवानहाङ

युवानहाङ ब्राण्डको नाम नसुनिएको पनि हुन सक्छ । यो दायुन ग्रुप अन्तर्गतको ईभी कम्पनी हो । गत वर्षको बेइजिङ अटोशोमा यो ब्राण्ड देखिएको थियो । त्यति बेला विकासकै क्रममा रहेको गाडी कम्पनीले तामझामको साथ देखाएको थियो ।

पछि कम्पनीले आफ्नो सेडान मोडल चिनियाँ बजारमा केही सयको संख्यामा मात्र बिक्री गर्न सफल भयो । युवानहाङले पनि अहिलेसम्म आफ्नो उत्पादन आधिकारीक रुपमा बन्द भएको घोषणा गरेको छैन ।

नेटा

नेपालमा समेत ठूलो संख्यामा बिक्री भएको नेटाले गत वर्षको बेइजिङ अटो शोमा ठूलो स्टल बनाएको थियो । कम्पनीले नेटा एल कम्प्याक्ट इआरइभी १४ हजार डलर मै लन्च गरेर धेरै मिडियाको ध्यान आफुतर्फ खिचेको थियो । नेटा चीनको टप १० स्टार्टअप भित्र लामै समय बस्यो ।

थाइल्याण्डमा उत्पादन सुरु गरेसँगै नेटाले मलेशिया र इन्डोनेशियामा पनि प्लान्ट लगाउने घोषणा गर्यो । सन् २०२४ मा नेटाले ६० हजारभन्दा बढि कार बिक्री गरेको थियो ।

सन् २०२५ को सुरुवातसँगै कम्पनीले धेरै कर्मचारी कटौती गरेको खबर बाहिर आयो । साथै, नेटाले कस्ट कन्टोल गर्न ‘रिसचै एण्ड डेभलपमेन्ट युनिट’ नै बन्द गर्यो ।

अहिले पनि नेटा ब्राण्डका कार ब्राजिल, इन्डोनेशिया, थाइल्याण्ड, नेपाल लगायत देशमा बिक्री भइरहेका छन् । चीनमा कमजोर अवस्थामा पुगेको नेटाको अन्तर्राष्ट्रिय बजारमा राम्रै बिक्री रहेको छ ।


Back_to_top