लाइसेन्सको सबै डाटा ‘रिकोभर’, नयाँ आवेदन खुलाउने तयारी

काठमाडौं । गत भदौ २४ गतेदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को नयाँ आवेदन खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

यातायात व्यवस्था विभागको अनलाइन प्रणाली (सर्भर) र लाइसेन्स सम्बन्धी सबै विवरण रिकोभर गरेसँगै यसै साता भित्रै नयाँ आवेदन खुलाउने तयारी गरेकाे हो ।

भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर, सर्भर लगायतमा क्षति पुगेपछि लाइसेन्स सम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले अनलाइन सिस्टम र लाइसेन्स सम्बन्धी डाटा रिकोभर गरिसकिएको बताए । उनले करिब डेढ महिना लगाएर डाटा रिकोभर गरिएको बताए ।

उनका अनुसार सिंहरवारस्थित एकीकृत डाटा सेन्टरमा रहेको ब्याकअप र विभागमै सुरक्षित भेटिएका हार्डडिस्कबाट लाइसेन्स सम्बन्धी सबै डाटा रिकोभर गरिएको हो । विभागको सर्भरमा ४५ लाख बढी लाइसेन्सको विवरण रहेको छ ।

अनलाइ प्रणाली तयार भइसकेकाले अब केही प्राविधिक तयारी पूरा गरी नयाँ आवेदन खुलाइने उनले बताए । ‘डाटा रिकभर भइसक्यो । सर्भर पनि बनिसक्यो । अहिले विभागमै डाटा सेन्टर राखेर सिस्टम चलाउने गरी आवश्यक तयारी र चेकजाँच गरिरहेका छौं,’ उनले मेरोअटोसँग भने, ‘सबै तयारी पूरा हुनेबित्तिकै नयाँ आवेदन खुलाइने छ ।’ सम्भवतः आजदेखि नै लाइसेन्सको नयाँ आवेदन खुलाइने विभागले जनाएको छ ।

साथै, कार्यालयका लागि अत्यावश्यक कम्प्युटर, प्रिन्टर, हार्डडिस्क, फर्निचर, इलेक्ट्रोनिक्स उपकरण लगायत सामान जुटाइसकिएकाे निर्देशक खतिवडाले बताए । ‘आगलागीबाट कार्यालयका सबै सामान नष्ट भएका थिए । अहिले केही खरिद गरी, केही अन्य निकायसँग सहयोग मागेर भए पनि जुटाइरहेका छौं,’ उनले भने, ‘विभागको दुइटामध्ये एउटा भवन कामै नलाग्ने भएको छ । एउटा भवन मर्मत भइरहेको छ । रङ लगाउने, सिसा राख्ने लगायत काम भइरहेको छ ।’

देशभरबाट औसतमा दैनिक ६ देखि ७ हजारसम्म नयाँ लाइसेन्स र नवीकरणका लागि आवेदन आउने गरेको विभागको तथ्यांक छ । ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छ ।

अहिले देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सेवा प्रदान गरिँदै आइएको छ ।


Back_to_top