काठमाडौं । सन् २०२५ को साढे ९ महिना (जनवरी १ देखि अक्टोबर १५ सम्म) नेपालमा १३ हजार ८७ युनिट कार आयात भएको छ । यस अवधिमा विभिन्न ६० ब्राण्डले उक्त संख्यामा गाडी आयात गरेका हुन् ।
अघिल्लो वर्ष २०२४ मा जस्तै २०२५ मा पनि बीवाइडी सबैभन्दा अगाडि देखिएको छ । अब साढे दुई महिना मात्रै वर्ष सकिन बाँकी रहँदा बीवाइडी सबैभन्दा अगाडि देखिएको हो ।
चिनियाँ ब्राण्डको आधिकारिक बिक्रेता साइमेक्स इंकले अक्टोबर १५ तारिखसम्ममा २ हजार ४३६ युनिट कार आयात गरेको छ । बीवाइडीको आयातमा डल्फिन, एटो वान, एटो टु र एटो थ्रीको हिस्सा सबैभन्दा धेरै छ । साथै, सिलायन र एम सिक्स पनि राम्रो संख्यामा ल्याएको देखिन्छ ।
दोस्रो स्थानमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ देखिएको छ । कम्पनीले २०२५ को अक्टोबर १५ तारिखसम्ममा २ हजार ४ युनिट कार ल्याएको छ । सिप्रदीको बिक्रीमा सबैभन्दा ठूलो हिस्सा ट्याक्सीको देखिन्छ । कम्पनीले ८७६ युनिट ट्याक्सीको रूपमा प्रयोग हुँदै आएको टिगोर ईभी ल्याएको छ । बाँकी भने प्यासेन्जर कार हो ।
तेस्रो स्थानमा हुन्डाई देखिएको छ । हुन्डाईको पेट्रोल कारको बिक्री बढेसँगै उसले तेस्रो स्थानमा बलियो पकड बनाएको हो । नेपालमै एसेम्बल गर्दै आएको हुन्डाईले साढे ९ महिनामा १ हजार ६५१ युनिट कार आयात गरेको देखिन्छ । कुल आयातमा क्रेटा ईभीको संख्या ३४६ युनिट छ ।
सूचीको चौथो स्थानमा एमजी छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यस अवधिमा १ हजार १५१ युनिट कार आयात गरेको देखिन्छ ।
पेट्रोल कार मात्रै बिक्री गर्दै आएको मारुती सुजुकीको आयात ८८२ युनिट भएको छ । सुजुकी धेरै कार आयात गर्ने कम्पनीको सूचीमा पाँचौं स्थानमा छ । सीजी मोटोकर्पले छिट्टै इलेक्ट्रीक ई भिटारा नेपाल ल्याउँदै छ ।
धेरै संख्यामा गाडी ल्याउने सूचीको छैटौं स्थानमा डोङफेङ नामी परेको छ । एमएडब्लू वृद्धिले यस अवधिमा ७११ युनिट कार आयात गरेको देखिन्छ ।
सूचीको सातौं, आठौं र नवौं स्थानमा क्रमशः ओमोडा/जेको, चांगान र किया देखिएका छन् । उनीहरूको आयात क्रमशः ५८३, ५४३ र ५१५ युनिट छ ।
टप १० कम्पनी भित्र लीपमोटर अन्तिममा छ । उसले यस अवधिमा ३५६ युनिट कार आयात गरेको देखिन्छ ।
माथिका टप १० बाहेक प्रोटोनले २५२ युनिट, केईले २४४ युनिट, निसान २३६ युनिट, जीएसी आयोन १८९ युनिट, टोयोटा १६४ युनिट, सिट्रोन १०० युनिट, एक्सपेङ ८२ युनिट, स्काइवेल ८० युनिट, स्कोडा ५८ युनिट र प्रिमियम ब्राण्ड बीएमडब्लूका ४१ युनिट कार आयात भएका छन् ।
यस बाहेक पनि तीन दर्जन ब्राण्डले थोरै थोरै कारहरू नेपाली बजारमा ल्याएका छन् । ट्याक्सीको रूपमा आएको जीएम ईभीको जीएसई मोडल पनि २२५ युनिट आयात भएको देखिन्छ ।
कुन ब्राण्डको बजार हिस्सा कति ?
साढे ९ महिनाको आयात अनुसार बीवाइडीको बजार हिस्सा १८.६१ प्रतिशत, टाटाको बजार हिस्सा १५.३१ प्रतिशत र हुन्डाईको बजार हिस्सा १२.६२ प्रतिशत रहेको देखिन्छ ।
त्यसका अलावा एमजीको ८.७९ प्रतिशत, मारुती सुजुकीको ६.७४ प्रतिशत, नामी ५.४३ प्रतिशत बजार हिस्सा सहित अगाडि देखिएका छन् ।

ओमोडा/जेको ब्राण्डको ४.४५ प्रतिशत बजार हिस्सा रहँदा चांगान (दीपाल)को ४.१५ प्रतिशत, किया ३.९४ प्रतिशत र लीप मोटरको २.७२ प्रतिशत बजार हिस्सा देखिन्छ ।
टप १० कम्पनीले ८२.७७ प्रतिशत बजार ओगट्दा अन्य तीन दर्जन ब्राण्डको भागमा १७.२३ प्रतिशत परेको देखिन्छ ।

